एउटै व्यक्ति दुई सरकारी कम्पनीको कार्यकारी प्रमुख

११ माघ, काठमाडौं । ऊर्जा मन्त्रालय अन्तर्गतका सरकारी स्वामित्वका दुई पब्लिक कम्पनीमा एकै व्यक्ति कार्यकारी प्रमुखको भूमिकामा रहेको पाइएको छ । विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखतबहादुर शाहीले नलगाड हाइड्रोपावर कम्पनीको प्रबन्ध सञ्चालक (म्यानेजिङ डिरेक्टर) को नियुक्ति पनि लिएका हुन् ।
ऊर्जा सचिव सञ्चालक समितिको अध्यक्ष रहने विद्युत उत्पादन कम्पनीमा छविराज पोखरेल, देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, रणबहादुर थापा र राजु श्रेष्ठलाई पछि पार्दै दैलेख दुल्लु नगरपालिकाका शाही १८ साउन २०८० मा सीईओ नियुक्त भएका थिए ।
त्यसको एक महिनाभित्रै भदौ महिनामा उनी नलगाड हाइड्रोपावर कम्पनीको प्रबन्ध सञ्चालक बनेका हुन् । विद्युत उत्पादन कम्पनीको सीईओको रुपमा शाही नलगाड हाइड्रोपावर कम्पनीको सञ्चालक समिति सदस्य हुन् ।
ऊर्जा मन्त्रालयका सहसचिव तथा नलगाड हाइड्रोपावर कम्पनीका तत्कालीन अध्यक्ष सन्दीप देव, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव ढुण्डी निरौला र शाहीसमेतको सञ्चालक समिति बैठकले सञ्चालक शाहीलाई नै अर्को व्यवस्था नहुँदासम्म प्रबन्ध सञ्चालक नियुक्त गर्ने निर्णय गरेको थियो ।
विद्युत उत्पादन कम्पनीको मातहत जाजरकोटमा बन्ने ४१७ मेगावाटको नलगाड जललाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि २०७४ मा ‘नलगाड हाइड्रोपावर कम्पनी’ गठन भएको थियो ।
यसको सञ्चालक समितिमा विद्युत उत्पादन कम्पनीले तोकेका ३ जना र स्वतन्त्र विज्ञ सञ्चालक २ जना रहने प्रावधान छ । सर्वसाधारणलाई सेयर बिक्री गरेपछि एक जना सञ्चालक शेयरधनीहरुबाट बनाउनुपर्ने व्यवस्था कम्पनीको नियमावलीमा छ । तर, नलगाडको कम्पनी नियमावली अनुसार स्वतन्त्र विज्ञ सञ्चालकहरु चयन भएका छैनन् ।
संस्थापक सेयर धनीबाट सञ्चालक बनेका शाही र ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप देव र अर्थ मन्त्रालयका सहसचिव भुपाल बराल नलगाडको सञ्चालक समितिमा छन् । २८ पुसको साधारणसभापछि सहसचिव बराल अध्यक्ष छानिएका छन् भने शाहीले प्रबन्ध सञ्चालकको पदमा निरन्तरता पाएका छन् ।
नलगाडमा नियुक्ति लिएपनि शाहीले विद्युत उत्पादन कम्पनीमा राजीनामा पनि दिएका छैनन् । अहिले एकसाथ नेपाल सरकार मातहतका दुई कार्यकारी पद ओगटेका शाहीलाई राजनीतिक संरक्षण छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबाहदुर बस्नेत, ऊर्जासचिव गोपाल सिग्देलसँग निकट सम्बन्ध बनाएका शाहीले एकैपटक दुई कम्पनीको कार्यकारी तहमा काम गर्नु अवैधानिक हो ।
कम्पनी ऐन–२०६३ ले एकै व्यक्तिलाई दुई कम्पनीमा कार्यकारी प्रमुख भएर काम गर्न रोक लगाएको छ । ‘कुनै एक सूचीकृत कम्पनीबाट बैठक भत्ताबाहेक नियमित पारिश्रमिक वा सुविधा प्राप्त गरिरहेको सञ्चालकलाई नियमित पारिश्रमिक वा सुविधा पाउने गरी अर्को सूचीकृत कम्पनीमा प्रबन्ध सञ्चालकको पदमा नियुक्त गर्न सकिने छैन’, दफा ९६ (६)मा भनिएको छ ।
पूर्व अर्थसचिव रामेश्वर खनाल एकै व्यक्तिले दुई सरकारी कम्पनीमा जागिर खानै नमिल्ने बताउँछन् । ‘सञ्चालक भएर जानसम्म मिल्छ, कार्यकारी भएर जागिर खान मिल्दैन’, उनले भने,‘ यस्ता नियक्ति कानुन विपरीत हुन्, यसलाई कम्पनी रजिष्ट्रारले हेर्नुपर्ने हो ।’
नलगाड हाइड्रोपावर कम्पनी र विद्युत उत्पादन कम्पनी दुबैको नियमावलीमा ‘प्रबन्ध सञ्चालक कम्पनीको पूरा समय काम गर्ने प्रमुख कार्यकारी अधिकृत र प्रशासकीय अधिकृत हुने’ व्यवस्था छ ।
तर, अहिले शाहीले दुबै कम्पनीमा कार्यकारी तहमा पूर्णकालीन भएर काम गरिरहेका छन् । तर उनले अवैधानिक रुपमा दोहोरो सुविधा लिइरहँदा तालुक निकाय ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालय मौन छन् ।
नलगाडको कम्पनी नियमावलीमा प्रबन्ध सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत नतोक्दासम्म वरिष्ठ कर्मचारीलाई निमित्त कार्यकारी प्रमुख बनााएर काम लगाउन सक्ने व्यवस्था छ ।
तर, नलगाडमा निमित्त नदिई विद्युत उत्पादन कम्पनीका सीईओ शाहीले नै आफैं कार्यकारी भएर काम गर्दा कम्पनीभित्र असन्तुष्टिे छ । जसले कम्पनीको दैनिक कार्यसम्पादनदेखि आयोजना निर्माणका लागि गर्नुपर्ने विभिन्न प्रक्रियाहरु समेत सुस्त बनेका छन् ।
नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव भुपाल बराल आफू अध्यक्ष भएर जानुभन्दा पहिले नै शाहीलाई प्रबन्ध सञ्चालकको जिम्मेवारी दिइएको बताउँछन् ।
‘उहाँ विद्युत उत्पादन कम्पनी लिमिटेडका तर्फबाट नलगाडमा सञ्चालक हुनुहुन्थ्यो, नलगाडमा नयाँ सीईओ नआउन्जेल सञ्चालक भएकाले प्रबन्ध सञ्चालक दिइएको रहेछ’, उनले भने ।
एउटा कम्पनीमा सीईओको रुपमा काम गरेर सेवा सुविधा लिएको व्यक्तिले अर्को कम्पनीमा प्रबन्ध सञ्चालक भएर काम गर्न मिल्छ र ? भन्ने अनलाइनखबरको प्रश्नमा अध्यक्ष बरालले भने, ‘म भर्खरै अध्यक्ष भएको हुँ, उहाँले उता (विद्युत उत्पादन कम्पनी) बाट सेवा सुविधा लिनुहुन्छ कि लिनुहुन्न भन्ने मैले बुझेको छैन ।’ अब नलगाडमा छिटै सीईओ नियुक्ति हुने भएकाले त्यतिञ्जेल शाहीले नै प्रबन्ध सञ्चालकका रुपमा काम गर्ने उनले बताए ।
सार्वजनिक संस्थान निर्देशन बोर्डका पूर्वअध्यक्ष विमल वाग्ले एकै व्यक्तिले दुई कम्पनीका कार्यकारी प्रमुखका रुपमा काम गर्न नपाउने बताउँछन् । सरकारी कम्पनीमा पनि त्यसरी दुईतर्फ नै नियुक्ति लिएर काम गर्दा पद स्वतः खारेज हुने उनको भनाइ छ ।
‘हरेक कम्पनीहरु आफैंमा स्वतन्त्र हुन्छन्, भगिनी कम्पनी नै भएपनि एउटै व्यक्तिले दुबै कम्पनीमा कार्यकारी अधिकार प्रयोग गर्न पाउँदैन’, उनले भने, ‘माउ कम्पनीमा कार्यकारी प्रमुख भएपछि सोही कम्पनीमा पूर्णकालीन भएरै काम गर्नुपर्छ, अर्कोमा कार्यकारी भएर काम गर्न पाइँदैन ।’
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली भगिनी कम्पनी नै भएपनि एकै कर्मचारीले दोहोरो नियुक्ति लिन नमिल्ने बताउँछन् । ‘कम्पनीको नियमावलीअनुसार कम्पनीले तोकेका व्यक्ति सञ्चालक हुन सक्लान्’, उनी भन्छन्, ‘तर दुई वटा कम्पनीमा बसेर एकैजनाले कार्यकारीका रुपमा काम गर्न मिल्दैन ।’
एकै व्यक्तिले कसरी दुईतर्फ पूरा समय काम गर्दै हुनुहुन्छ ? भन्ने अनलाइनखबरको प्रश्नमा बखतबहादुर शाहीले नलगाडमा खासै काम नभएको र संक्रमणकालीन समय चलिरहेकाले आफूले नियुक्ति लिएको बताए ।
नलगाडमा आफू प्रबन्ध सञ्चालक भएपनि सञ्चालकका रुपमा मात्रै सुविधा लिएको उनको दाबी छ । नवौ तह (सिनियर डिभजनल इन्जिनियर)लाई निमित्त दिनुपर्ने अवस्था आएकाले सञ्चालक समितिले आफूलाई नै कम्पनीको नेतृत्व लिन भनेको उनले बताए ।
‘सञ्चालक समितिले नै कम्पनी नियमावलीअनुसार नियुक्ति दिएकाले साँझ विहान र खाली समयमा नलगाडको काम गर्छु, खासमा म विद्युत उत्पादन कम्पनीकै सीईओ हुँ’, उनले भने, ‘चाँडै नलगाडमा सीईओ नियुक्त गरेर पद छाड्छु ।’
इन्जिनियरिङ प्रतिवेदन, वातावरणीय परीक्षण र पहुँच सडक निर्माणसहित पूर्वतयारी सकिएको नलगाड आयोजना निर्माणका लागि अझै वित्तीय स्रोत जुटेको छैन । कम्पनीले जापान सरकारसँग ऋण लगानीका लागि आग्रह गरेपनि सहमति भएको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।