कांग्रेसका मन्त्रीहरुसँग जम्कट्टेल : यसैगरी राजीनामा बुझाउनुपर्ने हो कि !

२३ फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नै नेतृत्वमा सरकार बन्ने वा नबन्ने निश्चित नभएको बताएका छन् ।
कांग्रेस-माओवादीको गठबन्धन टुटेर एमाले माओवादी गठबन्धन बनेपछि बागमती प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले बुधबार मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा बुझाएका छन् । उनीहरुको राजीनामा पत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले आफू मुख्यमन्त्री रहिरहने हो वा होइन भन्ने संशय व्यक्त गरेका हुन् ।
‘के हुन्छ निश्चित त छैन, सरकार कसको भागमा पर्छ, यो नयाँ गठबन्धनमा मेरै भागमा पर्यो र मेरो नै निरन्तरता हुने भयो भने मिलेर काम गरौंला । अझै साढे ३ वर्ष कार्यकाल बाँकी छ’, उनले भने ।
संसदीय व्यवस्थामा सरकार फेरबदलको प्रक्रिया चलिरहने भन्दै मुख्यमन्त्री जम्कट्टेलले आफैंले राजीनामा बुझाउने दिन पनि आउन सक्ने बताए । ‘भोलि फेरि मैले पनि यसैगरी राजीनामा बुझाउनुपर्ने दिन आउँछ कि’, उनले भने, ‘त्यसैले हामीले सौहार्दपूर्ण ढंगबाटै जानुपर्छ ।’
अरु प्रदेशमा कांग्रेसका मुख्यमन्त्रीले माओवादी केन्द्रका मन्त्री बर्खास्त गरेको भन्दै जम्कट्टेलले भने, ‘बर्खास्त नै किन गर्नु, यत्रो समय मिलेरै काम गर्यौं । त्यस्तो कटुता पनि भएन । सल्लाहले नै गरौं भन्ने कुरा भयो । राम्रैसँग सौहार्द रुपले तपाईहरु आउनु भयो, यो राम्रो संस्कारको विकास हो ।’
प्रदेशमा प्रतिपक्ष र सत्तापक्ष सँगसँगै जानुपर्ने मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । राजीनामा बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले अंकगणितका आधारमा सरकार बनाउन कांग्रेसले भूमिका खेल्ने बताए ।
उनले भने, ‘उहाँले (जम्कट्टेल) विश्वासको मत लिन सक्नुहुन्छ कि हुँदैन हेरौं । विश्वासको मत लिन सक्नुभएन भने संवैधानिक व्यवस्थाअनुसार ठूलो दलको हिसाबले हाम्रो सरकार बन्छ ।’ उनले नयाँ गठबन्धनको सरकार लामो समय नटिक्ने दाबी गर्दै कांग्रेसले स्थिर सरकार चाहेको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।