काठमाडौं महानगरले तयार गर्यो १२५ योजनाको डीपीआर

१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १२५ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ ।
१ अर्ब ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ बराबरको योजनाका ड्रइङ, डिजाइनिङ, लागत अनुमानसहितको डीपीआर तयार पारेको महानगरले जनाएको छ ।
डीपीआर तयार भएका ५८ योजना वडाहरूबाट माग भएर आएको महानगरको भनाइ छ । सम्पदा तथा पर्यटन विभागका २८, हरियाली आयोजनाका १३, सार्वजनिक निर्माण विभागका ६, स्वास्थ्य र सार्वजनिक निजी साझेदारीका ३/३ वटा योजनाका डीपीआर तयार भएका छन् । यस्तै सामाजिक विकास, वातावरण, प्रशासन, कृषि तथा पशुपन्छी विभागका १/१ वटा आयोजनाका डीपीआर तयार भएका छन् ।
आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले गएको आर्थिक वर्षमा माग भएका सबै योजनाको डीपीआर सकिएको र यसपछि माग भएर आउने योजनाको डीपीआरमा तत्काल काम गर्न सकिने बताए ।
सम्पन्न डीपीआरको कार्यान्वयनबाट मात्र नतिजा मापन गर्न सकिने भएकोले ट्र्याकिङ प्रणाली बनाइने उनले बताए ।
‘ट्र्याकिङ प्रणालीले नतिजा कति प्राप्त भयो, तत्काल हेर्न र भन्न सकिने हुन्छ । योजना कार्यान्वयनमा कुनै समस्या आयो भने तत्काल सम्बोधन गर्न सकिन्छ,’ उनले भने ।
संरचनालाई मौलिक शैली झल्किने बनाउन भौगोलिक अवस्थासँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था पनि विश्लेषण गरिएको छ आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराईले बताए ।
आयोगले तयार पारेका प्रतिवेदनहरू सम्बन्धित वडा र विभागमा पठाइ सकिएको र यसलाई सम्बन्धित विभाग र वडाले कार्यान्वयनमा ल्याउने उपाध्यक्ष राजभण्डारी बताउँछन् ।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गरिएका कार्यक्रमलाई आगामी भदौ महिनाभित्र डीपीआर सम्पन्न गर्ने तयारी भइरहेको उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।