Main

कान्तिपुर कोलोनी आसपास चितुवा, मानवीय क्षतिको भय

१४ भदौ, ललितपुर । ललितपुर महानगरपालिका वडा-१४ स्थित कान्तिपुर कोलानी नजिकैको झाडिमा चितुवा देखिएपछि स्थानीय वासिन्दा त्रसित भएका छन्। ललितपुरको सातदोबाटोबाट दुई किलोमिटर दूरीमा रहेको कोलोनी आसापास चितुवा कसरी आइपुग्यो भन्नेमा स्थानीय अनविज्ञ छन् ।

कोलानी नजिकैको झाडीमा तीनवटा चितुवा हुनसक्ने स्थानीयको भनाइ छ । उनीहरुले मोबाइलबाट भिडियो समेत खिचेका छन् । तर, त्यसमा संख्या एक्किन हुँदैन । स्थानीयका भनाइमा दुईवटा बच्चासहित कम्तिमा एउटा वयस्क चितुवा सो क्षेत्रमा बसिरहेको छ ।

कान्तिपुर कोलानी टोल विकास संस्थाको अध्यक्ष जितेन्द्रबहादुर भण्डारीले अनलाइनखबरसँग कुरा गर्दै भने ‘कोलोनी आसपासको झाडिमा चितुवा छ। टोलका सामुदायिक कुकुरहरु एकएक गर्दै खाइरहेको छ । हामी मानवीय क्षतिको त्रासमा छौं।’

सो क्षेत्रमा दुई महिना यता चितुवा देखिएको स्थानीयको भनाइ छ । उनीहरुले प्रहरी, प्रमुख जिल्ला अधिकारी, वन कार्यालय र वडा कार्यालयलाई पनि सूचित गरेको तर अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् ।

भण्डारीले भने, ‘जुनसुकै बेला मानवीय क्षती हुनसक्छ भनेर हामीले यो क्षेत्रमा ‘मर्निङ वाक’ र ‘इभिनिङ वाक’ नगर्न स्थानीयलाई अपिल गरेका छौं।’

जिल्ला वन कार्यालय ललितपुरका वन अधिकृत थिरप्रसाद कोइरालाले आफूहरुले चितुवालाई ‘ट्रयापिङ’मा पार्न प्रयास गरेको तर नसकेको बताए ।  उनले भने, ‘त्यो चितुवा बच्चा हुर्काउन त्यहाँ बसेको हो । त्यसलाई समातेर लैजान काठमाडौ बन कार्यालयलाई भन्नुपर्छ । हामीसँग स्रोत साधन छैन।’

‘झाडी फाड्ने अथवा ड्रोनबाट हेर्ने काम समेत भएको छैन। हामीले फोन गरेपछि वन कार्यालयबाट एक दुई जना आएर घुमेर फकन्छन्। वडाले वन फडान गरे हुने त्यसमा पनि हामीले सहयोग पाएका छैनौं। दुई महिनादेखि त्रासमा छौं’, भण्डारीले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button