को हो, मस्को हमलाको जिम्मा लिने आइएस-के?

रुसको राजधानी मस्कोमा सन् २००४ यताकै ठूलो सांघातिक हमला भएको थियो । गत शनिबार कन्सर्टमा भएको हमलामा ३०० भन्दा बढीले ज्यान गुमाएका थिए । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटना युक्रेनले गराएको आरोप लगाएका थिए । यद्यपी यस घटनाको जिम्मेवारी जिहादी समूह आईएस-के ले लिएको छ ।
को हो आइएस-के ?
आइएस-के इस्लामिक स्टेट खोर्सनको संक्षिप्त स्वरुप हो । अफगानिस्तान, इरान र पाकिस्तानमा केन्द्रित यो समूह विश्वमा प्रतिबन्धित आतंकवादी समूह इस्लामिक स्टेटको क्षेत्रीय सहयोगी हो । विगतमा उत्तर तथा मध्य एशियामा मुस्लिम शासन हुँदा त्यस इलाकालाई खोर्सन भन्ने गरिएकाले यस समूहले आफूलाई इस्लामिक स्टेट खोर्सन नामकरण गरेको हो ।
आइएस-के ९ वर्षअघि गठन भएको थियो । हालसालै यसले आफूलाइ आइएसको खतरनाक समूहका रुपमा चिनाइरहेको छ । सिरिया र इराकमा यस समूहको दबदबा छ । यो समूहले कडा मुस्लिम कानुन सरिहामा विश्वास राख्छ ।
तालिवान शासित अफगानिस्तानमा समेत यसले बेलाखबत हमला गरिरहेको छ ।
आइएस-के ले सन् २०२१ मा अफगानिस्तानको काबुल विमानस्थलमा हमला गरेको थियो । त्यहाँ उद्दार चल्दै गर्दा भएको आत्मघाती हमलामा १७० जना अफगानीसहित १३ जना अमेरिकी मारिएका थिए । यस्तै त्यही वर्ष उसले अफगानिस्तानमा रहेको रुसको दूतावासमा आक्रमण गर्दा ६ जनाले ज्यान गुमाएका थिए ।
यस समूहले अफगानिस्तानमा रहेका प्रसुति गृहदेखि बसपार्क र प्रहरी चौकीसम्म हमला गरेको छ । गत जनवरीमा आइएस-के ले इरानको केरमानमा रहेको मस्जिदमा हमला गर्दा १०० जना इरानीको ज्यान गएको थियो ।
रुसमा उसले साना तिना घटना यसअघि पनि घटाएको छ । सन् २०२० मा मात्रै रुसको जासुसी संयन्त्रले आइएस-के मा विभिन्न हमला प्रयास आफूहरुले निस्तेज बनाएको जिकिर गरेको थियो ।
को हुन् आक्रमणकारी ?
रुसका सञ्चारमाध्यमहरुका अनुसार घटनामा संलग्न रहेका ११ मध्ये पक्राउ परेका चार अभियुक्त ताजिकिस्तानका हुन् । ताजिकिस्तान कुनै समय सोभियत संघकै इकाइ थियो । हमलाको केही दिनअघि अमेरिकी जासुसी संयन्त्रले रुसमा ठूलै आतंककारी हमलाको खतरा रहेको बताएको थियो ।
यद्यपि क्रेमलिनले भने त्यसलाई अफवाहका रुपमा लिएको थियो । यही हमलाकै निम्ति दुईजना हालसालै रुस आएको विवरण पनि सार्वजनिक भएको थियो ।
आइएस-के को निसानामा रुस किन पर्यो ?
आइएस -केको निसानामा रुस पर्नुको पछि धेरै कारण छन् । आइएस-के को दुश्मनको सुचीमा रुस पहिलो सुचीमा थियो । त्यसपछि अमेरिका, युरोप, इजरायल छन् । यस्तै उसको निशानमा यहुदी, इसाइ तथा सिया मुस्लिम र तालिवान पनि छन् । मुस्लिम बाहुल्य राज्यका शासकहरुलाई आइएस-के ले धर्मत्यागीका रुपमा लिने गरेको छ ।
रुससँग इस्लामिक स्टेटको दुश्मनी सन् १९९० के दशकको चेचेन युद्धसँग पनि जोडिन्छ । त्यसबेला मस्कोले चेचेनको राजधानी ग्रोज्नी ध्वस्त बनाएको थियो । हालसालै पनि रुस सिरियाको गृह युद्धमा सामेल थियो ।
यसले त्यहाँ राष्ट्रपति बसर अल असदलाई साथ दिँदै इस्लामिक स्टेट समुह र अल-कायदाका लडाकुलाई निशाना बनाएको थियो । यस्तै, अफगानिस्तानमा पनि तालिवान रुसको सहयोगी रहेको आइएस-केको मान्यता छ । रुसलाई आइएस- के ले इसाइ बाहुल्य मुलुकका रुपमा लिन्छ ।
यस्तै, ताजिकिस्तानका बासिन्दाहरुलाई रुसी सुरक्षा संयन्त्रले निकैनै हेपाह प्रवृत्ति देखाउने गरेको कारणले पनि त्यहाँ ताजिकिस्तानका आइएस-के का सहयोगी परिचालन गरिएको बुझिएको छ ।
यस घटनाका केही रहस्यमय पाटो पनि रहेका छन् । सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुने क्षेत्रमा उनीहरु कसरी पस्न पुगे र करिब एक घण्टासम्म निष्फिक्री बस्न सके । अर्कोतर्फ पक्राउ पर्नुभन्दा ज्यान गुमाउनु ठीक मान्ने समुहका लडाकुले प्राय आत्मघाती हमला गर्छन् ।
यस घटनामा उनीहरुले कुनैपनि आत्मघाती वस्तुको प्रयोग गरेका थिएनन् । हतियारधारी यी समूहले त्यहाँ कुनै सुरक्षा केरकार नहुने अवस्थाको आँकलन कसरी गरे ? यस घटनामा उनीहरुले सानो बन्दुक नभएर अत्याधुनिक राइफलको प्रयोग गरेका थिए । कार्यक्रमस्थलमा त्यो हतियार पुर्याउन कसरी सम्भव भयो ?
यस घटनालाई कतिपयले आन्तरिक षड्यन्त्र पनि भनेका छन् । युक्रेनविरुद्धको युद्धमा जनसमर्थन बढाउनका निम्ति रचिएको प्रपञ्चका रुपमा पनि यसलाई व्याख्या गरिएको छ । हालसम्म अमेरिकी जासुसी संयन्त्रले जिकिर गरेको कुरा प्रमाणित गर्ने कुनैपनि बलियो आधार पनि फेला परेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।