क्यानडा लिग–२ को शीर्ष स्थानमा, युएईको लगातार तेस्रो हार

२२ फागुन, काठमाडौं । क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ मा युएईमाथि डकवर्थ लेविस पद्धतिको आधारमा ८ रनको जित हात पारेको छ । लगातार तेस्रो जितसँगै क्यानडा लिग २ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु टोली युएईको भने यो लगातार तेस्रो हार हो । डकवर्थ लेविस पद्धति अनुसार जितको लागि २३७ रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित ४६ ओभरमा ८ विकेट गुमाउँदै २२८ रन बनायो ।
युएईका वृत्य अरविन्दले ८३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनमा रन आउट भए । मोहम्मद वासिम ५० बलमा ४ चौका र १ छक्कासहित ४२, तानिश सुरी २७, सिपी रिजवान १८, राहुल चोपरा २९ र बासिल हामिद २७ रनमा आउट भए ।
क्यानडका डिलोन हेलिगरले १० ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९.४ ओभरमा ६ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । वर्षाको कारण बाँकी दुई बल खेल्न पाएको थिएन ।
क्यानडाका हर्ष ठाकेरले ११३ बलमा ६ चौका र २ छक्कासहित १११ रनको शतकीय इनिङ खेले । उनको ओडीआई करिअरको पहिलो शतक हो ।
आरोन जोनसन २९ र निकोलस किर्तोनले २६ रन बनाए । युएईका जुनैद सिद्दिक र आयन खानले २–२ विकेट लिए । सञ्चित शर्मा र जहुर खानले १–१ विकेट लिए । क्यानडाले यसअघि युएईलाई ३ विकेट र स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।
क्यानडाले अब बिहीबार स्कटल्यान्डसँग खेल्नेछ । युएई स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । शनिबार युएईले स्कटल्यान्डसँग खेल्नेछ ।
क्यानडा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । नामिविया ४ खेलमा ६ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । नेपालसहित ८ टोली सहभागी लिग २ आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोलीले २०२७ को ग्लोबल छनोट सोझै खेल्न पाउनेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।