चिनियाँ धार्मिक मामिला मन्त्रीको टोली लुम्बिनी भ्रमणमा

२९ जेठ,बुटवल । चीनका राष्ट्रिय धार्मिक मामिला प्रशासन मन्त्री छेङ रुइफेङसहितको चिनियाँ टोलीले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि रुपन्देही आएका छन् ।
मन्त्रालयका ७ जना उच्च तहका कर्मचारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसहित चार्टर प्लेनमा आएको चिनियाँ मन्त्रीको टोलीलाई गौतमबुद्ध विमानस्थलमा नेपाल चीन मैत्री समाज लुम्बिनीसहितका संघसंस्थाले स्वागत गरेका छन् ।
सो अवसरमा चिनियाँ मन्त्री छेङ रुइफेङले लुम्बिनीमा रहेको चिनियाँ मन्दिर र बौद्ध धर्मको प्रचार प्रसार, लुम्बिनीको पर्यटन प्रवर्द्धन र लुम्बिनी क्षेत्रमा रहेका रहेका नेपालीसँग भेटघाटका लागि आफू एक दिने लुम्बिनी भ्रमणमा आएको बताए ।
उनले लुम्बिनी घुम्न आउने चिनियाँ पर्यटकको संख्या बढाउन आफूले पहल गर्ने समेत बताए । सो अवसरमा नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा समेत प्रगाढ रहेको जानकारी गराउँदै लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि चिनियाँ बौद्ध धर्मावलम्बी र अन्य चिनियाँ नागरिकलाई लुम्बिनी भ्रमणमा पठाउन सरकारीस्तरबाट सहयोगको अपेक्षा रहेको बताए।
भ्रमण टोलीमा चिनियाँ राष्ट्रिय धार्मिक मामिला ब्यूरो प्रमुख हुआंग झेंङ पनि सहभागी थिए । चिनियाँ टोलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन,लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवाली, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवाली,चिनियाँ मन्दिरका गुरु यू सुन लगायतले स्वागत गरेका थिए ।
चिनियाँ टोली आज साँझ नै लुम्बिनी भ्रमण सकेर फर्किने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।