Main

‘चीन र भारतबीच संवाद सेतु बनेर लाभ लिऔं’

२७ माघ,बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले दुई छिमेकी मुलुक चीन र भारतबीच विद्यमान अघोषित तिक्ततालाई अन्त्य गर्न नेपाल संवाद सेतु बनेर पर्याप्त लाभ लिनसक्ने बताएका छन् ।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल-चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा उपकुलपति बज्राचार्यले विश्वकै शक्तिशाली अर्थतन्त्र र ठूलो जनसंख्या भएका दुई छिमेकीलाई सन्तुलित सम्बन्धले मिलाउने अवसर नेपाललाई भएको औंल्याए । ‘चीन र भारतबीच अघोषित तिक्तता रहेको सबैलाई जगजाहेर छ, त्यसलाई मिलाउने पुलको काम नेपालले गर्न सक्छ,’ बज्राचार्यले भने, ‘चीन र भारतबीच डायलग पोइन्ट नेपाल नै हो, दुवै देशको विश्वास जित्न सक्ने क्षमता देखाउने हो भने नेपालको आर्थिक विकास र समृद्धि टाढा छैन ।’

उपकुलपति सुवर्णलाल बज्राचार्यले नेपाल चीनको दक्षिणी ढोका भएको उल्लेख गर्दै यसलाई सदुपयोग गर्न नेपाल चुकेको औंल्याए ।

चिनियाँहरू भारतमा सहज प्रवेश नपाउने तर नेपालमा सहज प्रवेश पाउने भएकाले नेपालले यो ढोका सधैं खुला राखेर यसको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले चीनसँग साझेदारीमा कृषि,पर्यटन उद्योगमा लगानी गर्न सकिने बताए । देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय भवन बनान चीनले ५० करोड अनुदान दिएको भन्दै त्यहाँ चार हजार नेपाली र १६ हजार चिनियाँ विद्यार्थीलाई पढाउने लक्ष्य रहेको बताए ।

चीनविज्ञ डा. सागर न्यौपानेले चीनले नेपाललाई धेरै क्षेत्रमा सहयोग गर्न तयार भएपनि नेपालले विश्वास जितेर सहयोग लिन चुकेको औंल्याए । उनले चीनमा छात्रवृत्ति कोटा बढाउन पहल गर्न सुझाव दिए ।

प्राध्यापक कुमार खड्काले चीनमा करोडौं बौद्धमार्गी भएकाले उनीहरुलाई लुम्बिनी भ्रमणमा ल्याउन विशेष प्राथमिकता दिनुपर्ने बताए । भैरहवा र पोखरा विमानस्थलमा चिनियाँ जहाज उडान गर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।

आसन्न लगानी सम्मेलनमा चिनियाँ लगानी र नवीनतम औद्योगिक र कृषि प्रविधि प्रविधि भित्राउने योजना बनाउन सरकारको ध्यानाकर्षण गराए ।

नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनसँगको सम्बन्ध अझ बलियो र जनस्तरमा विस्तार गर्न बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना नेपालमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी र बुद्धिजमलाई छिमेकी देश चीनसँगको सम्बन्धको प्राथमिकतामा राखेर चिनियाँ बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा ल्याउन सबैले भूमिका खेल्नुपर्ने उनले बताए ।

अन्तरक्रियामा नेपाल चीन मैत्री समाज लुम्बिनीका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद रेग्मी,उपाध्यक्ष डा. ऋषिराम शर्मा,सचिव जनकराज पन्त, साहित्यकारहरु विजयसागर श्रेष्ठ र डिल्लीराज भट्टराई,अधिवक्ता शिव गौडेल,प्राध्यापक नरेन्द्र श्रेष्ठले चीनको तीब्र आर्थिक विकास, चिनियाँ नागरिकको मेहनत र अनुशासन,नेतृत्वको दुरदर्शिताबाट नेपालले पाठ सिक्नुपर्ने बताए ।

चीनको नयाँ वर्षलाई चिनियाँमा ‘छुन् च्ये’, अंग्रजीमा ‘स्प्रिङ फेस्टिभल’ र नेपालीमा वसन्त चाडका रुपमा स्थापित छ ।

चिनियाँ पात्रोको नयाँ वर्ष प्रायः जनवरीको मध्यदेखि वा फेब्रुअरी दोस्रो हप्ताभित्र पर्दछ । सन् २०२४ मा फेब्रुअरी १० तारिखमा चिनियाँ ड्रागन वर्ष प्रारम्भ हुँदैछ ।्

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button