Main

जसले नेपालको ‘वाइल्डलाइफ’ पर्यटन संसारमा चिनाए

४ कात्तिक, काठमाडौं । ‘वन्यजन्तु पर्यटनमा नेपाल अफ्रिकापछि दोस्रो ठूलो आकर्षक गन्तव्य हो सुशील !,’ पर्यटन व्यवसायी बसन्तराज मिश्रले दुई दशकअघि एक दिन यस पंक्तिकारसँगको भेटमा भनेका थिए ।

बसन्त दाइलाई मैले पहिलो पटक २०६१ सालमा भेटेको थिएँ । जुनबेला म नेपाल समाचारपत्र दैनिकको आर्थिक ब्युरोमा काम गर्थें । म पर्यटन तथा नागरिक उड्डयन र अन्य आर्थिक गतिविधिका समाचार रिपोर्टिङ गर्थें ।

बिस्तारै पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका समाचारमा बढी केन्द्रित हुने क्रममा बसन्त दाइसँग मेरो बाक्लै भेट हुन थालेको थियो । उनी नेपालमा पर्यटन गतिविधि सुरुवात भएपछि पर्यटन व्यवसायमा हात हाल्ने दोस्रो पुस्ताका व्यवसायी थिए ।

बसन्त दाइ दशकौंदेखि वन्यजन्तु पर्यटनलाई विशेष महत्त्व दिन्थे । उनी वन्यजन्तु पर्यटनका माध्यमबाट नेपालमा धेरै पैसा खर्च गर्ने ‘क्वालिटी टुरिस्ट’ ल्याउनुपर्छ भन्ने सिद्धान्तमा अडिग थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन, फोरमहरूमा उनी यही कुरा दोहोर्‍याउँथे, यसैलाई बढावा दिन्थे ।

तत्कालीन सरकारको अनुमति लिएर ५० को दशकमा बसन्त दाइले चितवन राष्ट्रिय निकुञ्जभित्र ‘टेम्पल टाइगर जंगल लज’ नामको रिसोर्ट सञ्चालनमा ल्याएका थिए ।

त्यसको दुई दशकभन्दा पहिले निकुञ्जभित्र टाइगर टप्स भन्ने रिसोर्ट खुलेको थियो । टाइगर टप्स खुल्दा चितवन राष्ट्रिय निकुञ्ज बनेकै थिएन । बसन्त दाइले निकुञ्जभित्र रिसोर्ट खोल्ने ‘आइडिया’ टाइगर टप्स रिसोर्टबाट मिलेको मलाई धेरै पटकको भेटमा बताएका थिए ।

ललितपुर कुपन्डोलका घरानियाँ मिश्र परिवारमा जन्मिएका बसन्त दाइले आफ्नो पर्यटन ‘करियर’ सुरुवात गोरखा ट्राभल्सको कर्मचारीका रूपमा थालेका थिए । त्यहाँ केही वर्ष काम गरेपछि उनले जागिर छाडिदिए ।

त्यसपछि चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्स रिसोर्ट ‘ज्वाइन’ गरेका बसन्त दाइले त्यहाँ केही वर्ष काम गरेर वन्यजन्तु पर्यटनको अनुभव लिएपछि बाहिरिएका थिए ।

गोरखा ट्राभल्सबाट समग्र पर्यटन र टाइगर टप्सबाट वन्यजन्तु पर्यटनको राम्रो अनुभव सँगालेपछि बसन्त दाइ आफैंले ट्राभल तथा टुर कम्पनी खोले, र नाम राखे– भेन्चर ट्राभल ।

भेन्चर ट्राभललाई विस्तार गर्दै उनले अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म पहुँच बनाए । भेन्चर ट्राभल स्थापित भएपछि बसन्त दाइले चितवन राष्ट्रिय निकुञ्जमा आफैं रिसोर्ट स्थापना गरे ।

त्यसबाट पर्यापर्यटन, वन्यजन्तु पर्यटनमा विशेष दक्खल कायम गरेका उनले दुई दशकभन्दा बढी अवधि खर्चालु पर्यटक नेपाल ल्याए । उनी सँगसँगै र उनलाई पछ्याउँदै अन्य केही पर्यटन व्यवसायीले पनि निकुञ्जभित्र त्यसबेला रिसोर्ट खोलेका थिए ।

‘हाम्रा पाँचतारे होटलले एउटा कोठा रातको ७० अमेरिकी डलरमा बेचिरहेका छन्, तर हामी निकुञ्जभित्रका रिसोर्टले एक रातको ३ सय डलर लिन्छौं,’ बसन्त दाइले त्यसबेला भन्दा म अचम्भित भएको थिएँ ।

तर एक दिन यस्तो आयो, तत्कालीन सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सात वटा रिसोर्ट हटाउने निर्णय गर्‍यो । सरकारको निर्णयको बसन्त दाइले खुलेरै विरोध गरे ।

त्यसबेला म नागरिक दैनिकको आर्थिक ब्युरोमा काम गर्थें । २०६६ सालतिर एकदिन बसन्त दाइले फोन गरेर भेटौं भने । म उनलाई भेट्न कमलादीस्थित भेन्चर ट्राभलको कार्यालयमा गएँ । त्यहीँ चिया पिउँदै हामी घण्टौं गफिएका थियौं ।

त्यो बेला चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सात वटा रिसोर्ट हटाउने सरकारको निर्णयलाई कसरी प्रतिरोध गर्न सकिएला, कसरी सरकारलाई वन्यजन्तु पर्यटनको महत्त्वबारे बुझाउन सकिएला, निकुञ्जभित्रका रिसोर्ट बन्द गर्दा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक सन्देश प्रवाह हुन्छ भनेर बसन्त दाइले मसँग लामो कुराकानी गरेका थिए ।

त्यसपछि मैले वन्यजन्तु पर्यटनको महत्त्वलाई केन्द्रमा राखेर नागरिक दैनिकमा धेरै समाचार लेखेको थिएँ । अन्य धेरै मिडियाका साथीहरूले पनि वन्यजन्तु पर्यटनलाई बढावा दिनुपर्ने र यसका लागि निकुञ्जभित्रका रिसोर्ट हटाउन नहुने भनेर धेरै समाचार सम्प्रेषण गरेका थिए ।

तर, सरकारले निर्णय फिर्ता नलिएपछि निकुञ्जभित्रका सबै रिसोर्ट बाहिर निस्किए । वन्यजन्तु पर्यटनलाई बढावा दिँदै आएका बसन्त दाइले आफ्नो रिसोर्ट निकुञ्ज बाहिर नवलपरासी कावासोतीबाट करिब सात किलोमिटरभित्र नारायणी नदी किनार वर स्थानान्तरण गरे । र, ‘टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट’ नाममा सञ्चालन गर्न थाले ।

‘हामीले सकेनौं सुशील,’ बसन्त दाइले सरकारको निर्णय कार्यान्वयन भएको दिन मसँग प्रतिक्रिया जनाएका थिए, ‘वन्यजन्तु पर्यटनको महत्त्व सरकारले बुझ्नै चाहेन ।’

बसन्त दाइ केही काम नगरी चुप लागेर बस्ने स्वभावका थिएनन् । उनले ठमेलमा लक्जरी अपार्टमेन्ट पनि सञ्चालन गरेका थिए । त्यो अपार्टमेन्ट र टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट सञ्चालन हुन थालेकै अहिले डेढ दशक नाघिसकेको छ ।

बसन्त दाइले पर्यटन क्षेत्र र पर्यटन व्यवसायीहरूको हक हितका लागि विभिन्न संघसंगठनको नेतृत्व समेत सम्हालेका थिए ।

उनले नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) र प्यासिफि एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरको नेतृत्व हाँकेर अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा दशकौं काम गरेका थिए ।

उनी पाटाको केन्द्रीय सदस्य र कोषाध्यक्ष समेत भएका थिए । एसिया प्रशान्त क्षेत्रका पर्यटन व्यवसायीहरूको छाता संगठनको कोषाध्यक्ष पद सम्हाल्ने बसन्त दाइ पहिलो नेपाली पर्यटन व्यवसायी थिए ।

बसन्त दाइ नेपाल पर्यटन बोर्डका संस्थापक सदस्य पनि थिए । उनले मुलुकको उड्डयन क्षेत्रको नियामका निकाय नेपाल नागरिक उड्डय प्राधिकरण सञ्चालक समितिका सदस्यका रूपमा उड्डयन क्षेत्रको विकासमा काम गरेका थिए ।

वन्यजन्तु पर्यटनमा विशेष लगाव भएकै कारण बसन्त दाइले वर्षैपिच्छे पत्रकारहरूको एक टोलीलाई कावासोतीस्थित टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट लान्थे र वन्यजन्तु पर्यटनको महत्त्वबारे जानकारी दिने गरेका थिए ।

त्यही सिलसिलामा म पनि धेरै पटक उनको रिसोर्टको पाहुना बनेको थिएँ । नागरिक दैनिकमा एक दशक काम गरेर छाडेपछि म जुन–जुन मिडियामा गए पनि बसन्त दाइसँग भने मेरो संगत कहिल्यै छुटेको थिएन ।

कोरोना महामारी सुरु हुनु केही अघि बसन्त दाइले कुपन्डोलस्थित आफ्नै निवासको आधा भागमा एउटा गजबको रेस्टुरेन्ट सञ्चालन गर्ने योजना मलाई सुनाएका थिए । त्यसपछि उनले भटाभट सामान पनि ल्याएका थिए । अनि, मलाई घरमै हेर्न बोलाएका थिए ।

तर, लगत्तै कोरोना महामारी फैलिएपछि बसन्त दाइले घरमै रेस्टुरेन्ट खोल्ने योजना त्यागिदिए र सामान थन्क्याइदिए । ‘यत्रो सामान अब के गर्ने दाइ ?,’ मैले सोध्दा उनले भनेका थिए, ‘कसैले किन्छ भने ठिकै छ, नत्र घरमै रहन्छ…’

धेरै स्वदेशी तथा विदेशी सम्मान र पुरस्कार प्राप्त गरेका बसन्त दाइले हालै ‘ज्यानु–बसन्तराज मिश्र फाउन्डेसन’ स्थापना गरेका थिए । यो फाउन्डेसनले वन, वातावरण, शिक्षा र पत्रकारिता क्षेत्रमा योगदना गर्नेलाई नगदर पुरस्कार प्रदान गर्छ ।

दसैंलगत्तै डेंगु रोग संक्रमणपछि उनी नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । तर, डेंगु संक्रमण जिते पनि तुरुन्तै मस्तिष्कघात हुुँदा सघन उपचारकै क्रममा बसन्त दाइको ७२ वर्षको उमेरमा आज आइतबार बिहान निधन भयो ।

भाउजु ज्यानु र छोरा ब्रजेशलाई धेर्यधारण गर्न सक्ने शक्ति मिलोस् । नेपालले पर्यटन क्षेत्रको दोस्रो पुस्ताका एक हस्ती गुमाउँदा अपूरणीय क्षति भएको छ । अलबिदा बसन्त दाइ !!

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button