५ महिनापछि मैदान फर्किँदै नेपाली फुटबल टिम, खेल्न पाउनु नै उपलब्धि

२७ कात्तिक, काठमाडौं । नेपाली फुटबल टोली ताजिकिस्तान र अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि मंगलबार ताजिकिस्तानको डुसानबे पुगेको छ ।
नेपालले बुधबार डुसानबेस्थित सेन्ट्रल स्टेडियममा ताजिकिस्तानविरुद्ध खेल्ने खेल पाँच महिनापछिको पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ । त्यसपछि १६ नोभेम्बरमा अफगानिस्तानसँग खेल्नेछ ।
नोभेम्बर १३ देखि १९ (कात्तिक २८-मंसिर ४ गते) सम्मको फिफा विन्डोभित्र नेपालले दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
पाँच महिनापछि अन्तर्राष्ट्रिय खेल
नेपालले यसअघि फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत साउदी अरेबियामा यमनविरुद्ध २९ जेठ (जुन ११) मा खेलेको थियो ।
उक्त खेल २-२ को बराबरीमा सकिएको थियो । विश्वकप छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपालले समूहको अन्तिम खेलमा यमनविरुद्ध गोलको खडेरी तोडेको थियो ।
त्यसपछि मैत्रीपूर्ण खेलका लागि सेप्टेम्बरमा फिफा विन्डो रहेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाललाई कुनै मैत्रीपूर्ण खेल खेलाउन सकेन ।
यसबीचमा न राष्ट्रिय टिमको खेल भयो, न एन्फाले घरेलु लिग नै गर्न सक्यो । शहीद स्मारक बी डिभिजन लिग दुई वर्ष देखिन नहुँदा नेपालको घरेलु लिग संरचनासमेत ठप्प छ ।
ए डिभिजन लिग २०७९-८० को च्याम्पियन चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगमा पारो एफसीसँग खेल्नु र त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा डुरान्ड कपमा तीन खेल खेल्नुबाहेक नेपालको राष्ट्रिय टिम वा क्लब र खेलाडीहरु फुर्सदमै रहे ।
बरु यसबीचमा महिला फुटबल र उमेर समूहका खेलहरु भने भइरहे । महिला टिमले साफ वुमन्स च्याम्पियनसिप खेल्यो भने एपीएफले एएफसी वुमन्स च्याम्पियन्स लिग छनोट खेल्यो । घरेलु महिला लिगको पहिलो चरणको खेल पनि भयो ।
यस्तै उमेर समूहको साफ च्याम्पियनसिप र एएफसीका उमेर समूहका छनोट प्रतियोगिताहरु पनि नेपालले खेल्यो ।
सिनियर टिमका खेलाडीहरु भने ताजिकिस्तानविरुद्धको खेलमार्फत् पाँच महिनापछि बल्ल नेपाली टोली मैदानमा
छोटो तयारी, बलियो प्रतिद्वन्द्वी
पाँच महिनापछि खेल हुन लाग्दा पनि नेपाली टोलीले लामो प्रशिक्षण लिएको छैन । चाडपर्व लगायतका कारण खेलाडीहरुले दुई महिनामात्र प्रशिक्षण गरे ।
इटालियन कोच भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगरेको एन्फाले दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमका पूर्वखेलाडी नविन न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षक बनाएको छ ।
ताजिकिस्तानमा नेपालले खेल्ने दुवै विपक्षी टिमहरु नेपालभन्दा बलिया र वरियतामा माथि छन् । फिफा वरियतामा नेपाल १७६ औं स्थानमा छ । ताजिकिस्तान १०५ औं र अफगानिस्तान १५१ औं स्थानमा छन् ।
शारीरिक रुपमा पनि नेपाल भन्दा ताजिकिस्तान र अफगानिस्तानका खेलाडी बलिया छन् । नयाँ प्रशिक्षक, छोटो समयको तयारी अनि टिममा खेलाडीको लगातार फेरबदलले पनि नेपालका लागि दुई खेलमा ठूलो चुनौती हुनेछ ।
अन्तरिम मुख्य प्रशिक्षक नविन न्यौपाने पनि यो कुरा स्वीकार गर्छन् । ‘छोटो समयको तयारी छ । हामी भन्दा राम्रो टिमहरु छन् । सबैले मिहिनेत गरेर राम्रो खेल्ने लक्ष्य छ । राम्रो कम्बिनेसन बनाएर काउन्टर अट्याकमा केन्द्रित हुनेछौं’, उनले भने ।
ताजिकस्तानविरुद्ध नेपालले यसअघि सन् २०१७ मा एएफसी एसियन कप छनोटका दुबै खेल (२-१ र ३-०) ले पराजय व्यहोरेको थियो ।
यस्तै अफगानिस्तान विरुद्ध नेपालले अहिलेसम्म ६ खेल खेल्दा ३ मा जित हात पारेको छ । २ खेलमा पराजित हुँदा १ खेल बराबरी खेलेको थियो । पछिल्लो पटक सन् २०१३ मा घरेलु मैदानमै भएको साफको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग १-० ले पराजित भएको थियो ।
विदेश पलायन र खेलाडीको चोटले गर्दा अहिले टिममा केही सिनियर खेलाडी छैनन् । अहिले नेपाली टिममा रहेकामध्ये कप्तान किरण कुमार लिम्बु, फरवार्ड भरत खवास, डिफेण्डर रोहित चन्द, फरवार्ड अन्जन विष्ट, मिडफिल्डर मनिष डाँगी, एरिक विष्ट र आयुष घलान चर्चित खेलाडीको रुपमा छन् ।
अनन्त तामाङ र लाकेन लिम्बु चोटका कारण टिममा छैनन् । यस्तै पछिल्लोपटक विश्वकप छनोट खेलेको टिममा पनि धेरै परिवर्तन भइसकेको छ । यमनविरुद्ध गोल गरेका सन्जिव विष्ट, हिसुब थपलिया, सौभाग्य राई विदेश पलायन भइसकेका छन् ।
केही अनुभवी खेलाडीहरु नहुँदा प्रशिक्षक न्यौपानेले अहिले चार नयाँ खेलाडी समावेश गरेर टिम तयार पारेका छन् । यू-२० राष्ट्रिय टिमका फरवार्ड निराजन धामी, डिफेण्डरद्वय अञ्जल महर्जन, रन्दीप पौडेल र अभिषेक वाइबाले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
अनुभवी डिफेण्डर अनन्त तामाङ नहुँदा नयाँ खेलाडीका लागि डेब्यु गर्ने अवसरसमेत छ । प्रशिक्षक न्यौपानेले नयाँ खेलाडीहरु समावेश गरेर युवा र अनुभवीसहितको मिश्रित टिम बनेको बताएका छन् । उनले राम्रो नतिजा ल्याउने अपेक्षा राखेका छन् ।
अञ्जनलाई कीर्तिमानको अवसर
चोटका कारण विश्वकप छनोटको अन्तिम दुई खेल (युएई र यमन) गुमाएका फरवार्ड अञ्जन विष्टले टिममा पुनरागमन गरेका छन् ।
अञ्जन नेपालका लागि सर्वाधिक गोल गर्ने सूचीमा संयुक्त रुपमा शीर्ष स्थानमा छन् । पूर्वकप्तान हरि खड्का र निराजन रायमाझीसँगै अञ्जनले नेपालका लागि सर्वाधिक १३ गोल गरेका छन् ।
अब एक गोल गरेमा उनले नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउनेछन् । ताजिकिस्तान र अफगानिस्तानविरुद्ध खेल्दा अञ्जनका लागि पनि व्यक्तिगत कीर्तिमान बनाउने अवसर हुनेछ ।
अञ्जनले पछिल्लो पटक फिफा विश्वकप छनोटको प्रारम्भिक चरणको छनोट अन्तर्गत लाओस विरुद्ध घरेलु मैदानमा गोल गर्दै कीर्तिमान बराबरी गरेका थिए । तर त्यसपछि भने उनले गोल गर्न सकेका छैनन् ।
२३ सदस्यीय नेपाली फुटबल टोली
गोलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, विशाल सुनार,
डिफेण्डर : अभिषेक लिम्बु, विमल पाण्डे, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, अभिषेक वाइवा, रणदिप पौडेल, अन्जल महर्जन
मिडफिल्डर : रोहन कार्की, मणिकुमार लामा, एरिक विष्ट, अरविन्द राई (आशिष),भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुश घलान, सुमित श्रेष्ठ
फरवार्ड : जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, निराजन धामी
– यस समाचारको श्रोत : Online Khabar हो ।