जेइकु–जे ६ : ‘लुक्स’ नै काफी

१२ मंसिर, काठमाडौं । नेपाली उपभोक्तालाई गाडी किन्ने भन्ने बित्तिकै दुई–तीन कुराले ध्यान तान्ने गर्छ ।
नेपालको सडक अनुसार हाँक्न उपयुक्त गाडी छ किन छैन, उकालो–ओरालोमा गुडाउन सहज छ कि छैन र गाडीमा ‘सेफ्टी फिचर’ के–के छन् भन्ने महत्त्वपूर्ण विषय हुन् ।
पछिल्लो केही वर्षदेखि नेपाली उपभोक्ताको मनमा बस्दै आएका विद्युतीय गाडी (ईभी) किन्ने हो भने त यसले फुल चार्जमा कति किलोमिटर रेन्ज दिन्छ भन्ने अर्को महत्त्वपूर्ण विषय हो ।
नेपालका सडक सबैतिर पक्की (कालोपत्र) छैन । कालोपत्र भएकै सडकमा पनि खाल्डाखुल्डीले दुःख दिइरहेको हुन्छ । यस्तोमा ईभी किन्नुपरे धेरै सोच्नुपर्ने अवस्था भने देखिन्छ ।
‘नाडा अटो शो २०२४’ मार्फत नेपालमा सार्वजनिक भएको जेइकुको ‘जे–६’ ईभीले नेपाली भूगोलमा ‘अफरोड’ ईभी किन्ने ‘कन्फिडेन्स’ दिन्छ । अफरोड ईभी जे–६ पछिल्लो समय नेपाली बजारमा चर्चाको विषय समेत बनेको छ ।
नेपालका लागि आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले यो गाडी ६९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नेपाल भित्र्याएको हो ।
के छन् विशेषता ?
टुर, एडभेन्चर ट्राभलका लागि निर्माण भएको स्टाइलिस यो ईभीमा भएको १९ इन्चको ह्विल, २२० एनएम टर्क र २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्सले नै यो नेपालकै लागि बनेको जस्तो देखिन्छ । रियर ह्विल ड्राइभ सिस्टममा १३५ किलोवाट क्षमताको मोटर पावर यो गाडीमा दिइएको छ ।
लाइफस्टाइल अफरोड सेग्मेन्टमा आएको जे–६ बक्स डिजाइनमा निर्माण भएको छ । ईभीमा आकर्षक डिजाइन थप्ने यो एसयूभीको एक्सटेरियरमा एलईडी लाइटले स्टाइलिस देखाएको छ ।
अफरोड एसयूभीमा पानारोमिक सनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डुअल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्स्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर, ३६० डिग्री क्यामरा, इलेक्ट्रिक पार्किङ ब्रेक, ६ एयरब्याग, क्यामरा बेसको लेभल–२ एडास, भेइकल स्टेबिलिटी कन्ट्रोल, फ्रन्ट र रियर पार्किङ सेन्सरजस्ता आधुनिक फिचर छन् । यसमा पाँच रङ अप्सन छ ।
एकपटक फुलचार्जमा ४ सय किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको जे–६ मा ६५.६९ किलोवाट आवरको ब्याट्रीप्याक छ । आठ वर्ष वा १ लाख ५० हजार किलोमिटरको ब्याट्री वारेन्टी यो गाडीमा पाइन्छ ।
फास्ट चार्जरबाट ३० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन्छ । आधिकारिक विक्रेता एसपीजीका सिनियर मेनेजर निलन बज्राचार्यका अनुसार पछिल्लो ओमोडा र जेइकु सहितका गाडीका लागि देशभरि चार्जिङ नेटवर्क बन्दैछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।