तीनवटै प्रतिवेदनले आशा सिर्जना गर्न सकेन : प्रदीप पौडेल

४ फागुन, काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी बैठकमा प्रस्तुत तीन प्रतिवेदनले आशा सिर्जना गर्न नसकेको टिप्पणी गरेका छन् ।
शुक्रबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता पौडेलले प्रतिवेदनमा समस्या आएको तर समाधानका लागि ठोस प्रस्ताव नभएको बताए ।
‘तपाईहरुले समस्या सबै ल्याउनुभएको छ । समस्या बुझेको देखिन्छ । केही समाधानका बारेमा गगन जीले समेट्नु भएको छ । तर, पूर्ण हुन सकेन । कुनैपनि दस्तावेजमा समाधान गर्ने गरी आएनन्,’ पार्टी बैठकमा पौडेलले भने ।
निराशामा रहेको पार्टी कार्यकर्तालाई भरोसा दिने गरी प्रतिवेदन नआएको पौडेलको तर्क थियो । कांग्रेसमै रहने कि पार्टी छोड्ने भनेर महासमितिको बैठकको प्रतिक्षा गरेकालाई कांग्रेसमा रहने गरी आशा सञ्चार गर्न प्रतिवेदनले नसकेको पौडेलको निर्क्योल थियो ।
‘जो कांग्रेसमा बसौं कि अरु तिर जाऔं भन्ने मनस्थिति बनाएका छन् । यस्तो सन्देशले कांग्रेसमै रोक्न सकिन्न,’ पौडेलले बैठकमा भने । सुशासन शब्दले प्रतिवेदनमा एकदमै धेरै ठाउँ पाएपनि सुशासन ल्याउने विधिबारे प्रतिवेदन मौन रहेको पौडेलले सुनाए ।
‘दस्तावेजमा शब्द मात्रै राखेर सुशासन आउँछ त? सुशासन ल्याउने प्रक्रिया के हो?’ प्रतिवेदन प्रस्तुतकर्ताहरुलाई पौडेलको प्रश्न थियो,‘सुशासन मन्त्रालय बनाउने हो कि? अख्तियारलाई निष्पक्ष बनाउने हो कि? लागू गर्ने कार्ययोजना के हो?’
भ्रष्टचार अन्त्य गर्छु गर्ने कागजमा देखाएर नहुने उनको तर्क छ । सरकारमा बसेको दलले बोलेर मात्रै नहुने र व्यवहारमा देखिनुपर्ने मत पौडेलले राखे ।
संघीयता बोझिलो भएको भनिरहँदा प्रशासनिक खर्च कटौती बारे दस्तावेजमा कुनै विषय उल्लेख नभएको पार्टी बैठकमा पौडेलले विचार राखे । ‘आर्थिक संकट भएको कुराहरु व्यापक रुपमा बाहिर आइरहेका छन् । त्यसलाई हल गर्ने प्रतिवेदनमा के आयो? ’
– यस समाचारको श्रोत : Online Khabar हो ।