Main

दोहोरी गीत प्रतिष्ठानले १० लाखको सामाजिक सहायता कोष स्थापना गर्ने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कलाकारलाई आर्थिकरुपमा सघाउन दशलाख रुपैयाँको सामाजिक सहायता कोष स्थापना गर्ने भएको छ ।

यसका लागि ‘नारायण रायमाझी सांगीतिक साँझ’बाट संकलित रकमलाई अक्षयकोषको रुपमा राखिने प्रतिष्ठानले जनाएको छ । शुक्रबार आयोजित समारोहमा प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले कोषबाट दुःखी, पीडित कलाकारलाई मद्दत मिल्ने विश्वास लिइन् ।

भदौ १५ गते ‘नारायण रायमाझी सांगीतिक साँझ’ आयोजना गरिएको थियो । सो कार्यक्रम आयोजनामा सघाउने सबैलाई धन्यबाद ज्ञापन कार्यक्रम शुक्रबार काठमाडौंमा आयोजना गरिएको थियो ।

उक्त अवसरमा रायमाझीले आफूले भाग्यमानी महसुस गरेको बताए । प्रतिष्ठानले हरेक बर्ष हरेक कलाकारको सांगीतिक साँझ गर्ने कुराले निरन्तरता पाओस् भन्ने आशा उनले व्यक्त गरे ।

प्रतिष्ठानले वार्षिकरुपमा अग्रज कलाकारमध्येबाट सांगीतिक साँझ आयोजना गर्ने घोषणा गरेको थियो । रायमाझीबाट यस्तो सांगीतिक कार्यक्रम सुरु भएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङले सबै कलाकारलाई समेटेर सांगीतिक साँझ गर्नु गर्वको कुरा भएको बताए ।

कार्यक्रममा गुरुङ केही आक्रामक सुनिए । प्रतिष्ठानले अरुको म्युजिक ट्रयाकमा गीत गाउन नपाउने नीति ल्याएर राम्रो काम गरेको बताउँदै उनले मेला महोत्सवमा ठेकेदारको बिगबिगी बढेको गुनासो गरे ।

‘नजिकका मान्छे मात्र बोलाउछन् । यस्तो गर्नु नितान्त गलत हो । कतिपय कलाकार त ५० हजारमा गए भन्ने तर, १५ हजारमा हिँड्ने गरेको पनि सुनेको छु । आफ्नो क्षमता, कला भन्दा बढी अपेक्षा नगर्नुहोला’ उनको सुझाव थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button