विदेशबाट फर्केका आठ उद्यमी पुरस्कृत

१६ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरिरहेका आठ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको छ ।
आइतबार मन्त्रालयले उत्कृष्ट उद्यमीलाई नगदसहित सम्मान गरेको हो । झापाका चन्द्रप्रसाद बस्नेतले १ लाख ५० हजार नगदसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।
गुल्मीका रविलाल पन्थ, झापाका मोहनप्रसाद संग्रौला, जुम्लाका टक्कबहादुर नेपाली, कन्चनपुरका चन्द्र सिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापाले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । उनीहरूले नगद ७५/७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गरेका उद्यमीहरूलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।
राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि सार्वजनिक रूपमा आवेदनको माग गरिएको थियो । जसमा ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए ।
विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिश समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा सम्भव भएसम्मका सातवटै प्रदेशको प्रतिनिधित्व कायम गर्ने गरी ८ जना उद्यमीलाई राष्ट्रिय पुरस्कार वितरण गरिएको हो ।
उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री अर्यालले एक पटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुकभित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।