Main

नेपाल क्यानडा सिरिज : नयाँ खेलाडीको साथमा राम्रो प्रदर्शनको अपेक्षा

२४ माघ, काठमाडौं । भोलि बिहीबारदेखि काठमाडौंमा सुरु हुने क्यानडासँगको एक दिवसीय क्रिकेट सिरिजमा नेपालले नयाँ खेलाडीसहित राम्रो नतिजाको अपेक्षा राखेको छ ।

प्रतियोगिता अघिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक मोन्टी देशाईले नयाँ खेलाडीको साथमा मैदानमा उत्रिन निकै उत्साहित रहेको बताए ।

उनी भन्छन्, ‘नयाँ खेलाडीहरु पनि छन् । उनीहरुले सिनियर टिममा आएर आफूलाई कसरी प्रस्तुत गर्छन र आफ्नो भूमिका कसरी निभाउँछन् । यो निकै महत्वपूर्ण हुनेछ ।’

यू–१९ टिमबाट आएका दुई खेलाडी र प्रधानमन्त्री कपमा राम्रो गरेका खेलाडी सहित केही नयाँ अनुहारलाई लिएर टिम बनाइएको छ । जसमा यू–१९ टिमबाट देव खनालले सिनियर टिममा कमब्याक गरेका छन् भने आकाश चन्द र हेमन्त धामीले सिनियर टिममा मौका बनाएका छन् । अनिल साह, पवन सर्राफ र सूर्य तामाङ टिममा फकिएका छन् । त्यस्तै रिजन ढकालले पहिलो पटक टिममा मौका बनाएका छन् ।

प्रतियोगिता निकै प्रतिस्पर्धात्मक हुने प्रशिक्षक देशाईँको अपेक्षा छ ।उनले भने, ‘ब्याटल भनेको राम्रो क्रिकेटको हुनेछ । स्किलको च्यालेन्ज हुनेछ । क्यानडाले पनि यही वर्ष एकदिवसीय मान्यता पाएको छ । जसले गर्दा यो सिरिज प्रतिस्पर्धात्मक हुनेछ ।’

नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके पहिलो पल्ट नेपाली भूमिमा नेपालको विरुद्ध देखिने छन् । उनले पनि यो सिरिजलाई लिएर निकै उत्साहित रहेको बताए । ‘हामीले आउँदै गरेको खेलहरु अगाडि नेपालसँग घरेलु मैदानमा ठूलो मात्राको समर्थक अगाडि खेल्दा राम्रो अनुभव बटुल्नेछौं ।’

क्यानडाका कप्तान साद बिन जाफरले पनि नेपालमा खेल्न पाउनु आगामी सिरिजको लागि राम्रो तयारी रहेको बताएका छन् । ‘हामी पहिलो पटक नेपाल आएका हौं । नेपालको खेलहरु हेरिरहेका हुन्थ्यौं । नेपालसँग खेल्नु भावी खेलहरुको लागि हामीलाई राम्रो तयारी हो’, उनले भने ।

युएईमा मार्चमा हुने शृंखलामा क्यानडाले युएई र स्कटल्याण्डसँग खेल्ने छ । जुन क्रिकेट वर्ल्ड कप लिग टुको दोस्रो सिरिज हो ।

लिग टुको पहिलो सिरजमा भने काठमाडौंमा नेपालसहित नामिबिया र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्ने छन् । त्यो सिरजको तयारीका लागि नेपालले क्यानडासँग एक दिवसीय सिरिज खेल्न लागेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button