नेप्सेको आँगनमा १० फिट अग्लो ‘बुल’ (तस्वीरहरू)

७ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको आँगनमा १० फिट अग्लो साँढे (बुल) को मूर्ति तयार भएको छ ।
तामा र पित्तल धातु मिश्रित ढलोटमार्फत बुलको मूर्ति निर्माण भएको नेप्सेले जनाएको छ । विश्वका अन्य स्टक मार्केटअगाडि पनि बुलको मूर्ति राख्ने चलन छ । बुलले बढ्दो बजारको संकेत गर्छ, लगानीकर्ताले बुल मन पराउँछन् ।
अल्पकालीन अवधिमा बजार घटे पनि दीर्घकालीन रूपमा बढ्ने प्रवृत्ति हुने भएकाले विश्वका बजारमा बुलको प्रतीक राख्ने गरिन्छ ।
यो बुलको प्रतीक १० फिट अग्लो र १२ फिट लम्बाइको छ । नेप्से परिसर सौन्दर्यकरण कार्यक्रमअन्तर्गत नै यो साँढेको मूर्ति बनाइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
नेप्से परिसर सौन्दर्यकरणअन्तर्गत १ करोड ४८ लाख रुपैयाँको योजना थियो । त्यसैअन्तर्गत यो बुलको प्रतिक बनाइएको हो । बुलकको प्रतीक बनाउन लागेको छुट्टै लागत निकालिएको छैन । औपचारिक रूपमा यो बुलको उद्घाटन भएको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।