पृथ्वी जयन्तीमा अष्ट्रेलियामा मनाइयो नेपाली दिवस

सिड्नी । पृथ्वी जयन्तीको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन् ।
अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेडलगायत सबै राज्यका प्रमुख सहरमा नेपाली समुदायले पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा विभिन्न कार्यक्रम गरे।
सिड्नीमा खुला सार्वजनिक माल्यार्पण कार्यक्रम गरियो । सिड्नीको कार्यक्रममा सहभागीहरूले नेपाली धर्म, संस्कृति र ऐतिहासिक पहिचानका मानकको माध्यमबाट अष्ट्रेलियाको नेपाली समुदायलाई एकताबद्ध गर्न सकिने बताएका थिए ।
अष्ट्रेलियाको नेपाली समुदायका स्वतन्त्र अभियन्ताहरूको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाली समुदायका अगुवा मदनमणि अधिकारीले पृथ्वीनारायण शाहको नेतृत्व र अगुवाइमा आधुनिक नेपाल र नेपालीको पहिचान स्थापित भएकाले अष्ट्रेलियामा नेपाली दिवसका माध्यमबाट पृथ्वीनारायण शाहको सम्झना गरिएको बताए ।
अष्ट्रेलियाका युवा अभियन्ता तथा व्यवसायी डिला खरेलले नेपाल निर्माता मात्र नभएर पृथ्विनारायण शाह नेपाली परिचय निर्माता समेत रहेको बताए ।
कार्यक्रममा सहभागी युवा विद्यार्थी धर्वेन्द्र यादवले पृथ्वीनारायण शाहको योगदान नेपाललाई मात्र नभएर विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपालीलाई रहेको भन्दै इतिहास जस्तै वर्तमान र भविष्य बनाउन संस्कृति र प्रविधीको क्षेत्रमा जोड दिनुपर्ने बताए।
हालै नेपालबाट अष्ट्रेलिया आएका इन्जिनियर सन्तोष पोखरेलले नेपाली जहाँ भएपनि आफ्नो इतिहास र पहिचान भुल्न नहुने बताए।
सिड्नीको कार्यक्रममा अष्ट्रेलियामा जन्मेहुर्केका बालबालिकासमेत सहभागी थिए।
क्यानबेरामा क्रिकेट प्रतियोगिता
अष्ट्रेलियाको राजधानी क्यानबेरामा बस्ने नेपालीहरूले पृथ्वीनारायण शाहको सम्झनामा क्रिकेट प्रतियोगिता गरे ।
सनातन समाज अष्ट्रेलियाले स्थानीय क्रिकेट क्लबहरू बीच प्रतियोगिताको आयोजना गरेर पृथ्वी जयन्ती मनाएको हो ।
टी-टेन क्रिकेट प्रतियोगिताका रूपमा आयोजना भएको प्रतिष्पर्धामा ‘क्यानबेरा नेपलिज क्रिकेट क्लब’ विजेता भयो।
प्रतियोगितामा सुमित पडाल, संजय भट्ट, प्रशान्त विष्ट प्लेर अफ द म्याच भए भने दिप्त रमन रिजाल बेस्ट फिल्डर भए ।
सनातन समाज अष्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले पृथ्वी जयन्तीको दिनमा नै औपचारिक कार्यक्रम गरेर पुरस्कार वितरण गरेको जानकारी दिए।
राप्रपाको भातृ संगठनको एडिलेडमा चियापान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृसंगठन प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाले एडिलेडमा पृथ्वी जयन्तीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा अष्ट्रेलिया भरका राप्रपाका सुभेच्छुक एवम् प्रवासी नेपाली एकता समाजका सदस्यहरूले पृथ्वीनारायण शाहको योगदान र त्यसबाट हरेक नेपालीले सिक्नुपर्ने पाठबारे चर्चा गरे ।
प्रवासी नेपाली एकता समाजका अजय राजवंशीले अष्ट्रेलियामा बस्ने नेपालीहरूले आफ्ना बच्चाहरूलाई किन आफू नेपाली हो र नेपालीको पहिचान के हो भन्ने सिकाउँदा पृथ्वी नारायण शाह चिनाउन छुटाउन नहुने बताए।
– यस समाचारको श्रोत : Online Khabar हो ।