पेरिस पारा ओलम्पिक : पलेशा क्वार्टरफाइनलमा ब्राजिलियन फर्नान्डेजसँग पराजित

१४ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारा ओलम्पिकमा क्वाटरफाइनलमा ब्राजिलियन खेलाडीसँग पराजित भएकी छन् ।
पेरिसस्थित ग्रान्ड पेलेसमा भएको के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजी मुनि पलेशा क्वाटरफाइनलमा ब्राजिलियन मायारा सिल्भाना फर्नान्डेजसँग १०-८ ले पराजित भईन् ।
सुरुमा ५-१ को अग्रता बनाएकी पलेशाले थ्यसलाई कायम राख्न सकिनन् भने फर्नान्ड्जले उत्कृष्ट पुनरागमन गरिन् ।पलेशाले आजै भएको पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोरालेसलाई ३१-० ले सहजै हराएकी थिइन् ।पलेशाले अब आजै रिपिचेज खेल्नेछिन् ।
यस पटक पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिकमा पुगेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् ।
छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । पलेशा १९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुन् ।
पलेशाले यसअघि सन् २०२१ मा जापानमा भएको टोकियो पारा ओलम्पिक समेत खेलेकी थिइन् । जहाँ उनले दुई बाउट जित्दै कीर्तिमान बनाएकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।