प्रज्ञा प्रतिष्ठानले सामाजिकशास्त्र सङ्गोष्ठीका लागि माग्यो शोधमूलक लेख-रचना

७ चैत, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत सामाजिकशास्त्र विभागले सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी-२०८१ आयोजना गर्ने भएको छ ।
‘राजनितिक परिवर्तन र नेपाली समाज’ विषयमा २०८१ जेठ १६ र १७ गते हुने सङ्गोष्ठीको लागि विभागले शोधमूलक लेख/रचना माग गरेको छ ।
लेखकहरुले राजनीतिक परिवर्तन र नेपाली समाजको अलवा सामाजिकशास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन, इतिहास र समाज, विकास र समाज, द्वन्द्व र शान्ती निमार्ण प्रक्रियामा समाज, सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरु लगायत विषयमा पनि लेख्न सक्नेछन् ।
प्राप्त शोधमूलक लेख, रचनामध्ये २५ वटा उत्कृष्ट लेखरचना सङ्गोष्ठीमा प्रस्तुतिका लागि छानिने छ ।
समयको परिवर्तनसँगै भएका राजनितिक परिवर्तन तथा विकासका बारेमा भएका शोधमूलक कार्यलाई प्रोत्साहन गरी सहयोग गर्न र सामाजिक विज्ञानको क्षेत्रमा थप ज्ञाननिर्माण गर्न सङ्गोष्ठी आयोजना गर्न लागिएको प्राज्ञ तथा सामाजिकशास्त्र विभागका प्रमुख डा. कौशिला रिसालले जानकारी दिइन् ।
डा. रिसालले सामाजिकशास्त्रका क्षेत्रमा अध्ययन, अनुसन्धानमूलक कार्य गरिरहेका तथा यस क्षेत्रमा थप अध्ययन गर्न चाहनेका लागि सङ्गोष्ठीले प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरिन् ।
सङ्गोष्ठीमा भाग लिन चाहनेले इमेलमार्फत आउँदो वैशाख १५ गतेसम्म लेख रचना पठाइसक्नुपर्ने छ ।
लेख/रचना नेपाली भाषामा पठाउनुपर्ने छ भने यसअघि अन्यत्र प्रकाशन/प्रसारण नभएको हुनुपर्नेछ ।
शोधमूलक लेख/रचना तीन हजारदेखि चार हजार ५०० शब्दभित्रको हुनुपर्ने छ भने शोधकार्यमा आधारित हुनुपर्ने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।