Main

विकास योजनामा भारतीय दूतावासले सोझै रकम दिनु राष्ट्रहित विपरीत : झलनाथ खनाल

२१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालको विकास परियोजनामा भारतीय दूतावासले सिधै रकम दिनु गलत भएको बताएका छन् ।

गत बुधबार भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भारतीय दूतावासले नेपाली परियोजनामा सिधै २० करोड रुपैयाँसम्म रकम दिन सक्ने समझदारी भएको थियो । यसअघि दूतावासले यस्तो विकास परियोजनामा ५ करोड रुपैयाँसम्म दिन सक्ने व्यवस्था थियो ।

पार्टी कार्यालय आलोकनगरमा शनिबार सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले भारतले दिने सहयोग रकम भारतीय सरकारले सोझै नेपाल सरकारलाई दिनुपर्ने बताए ।

‘…कुनैपनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुराहरु हाम्रो राष्ट्रको हितको कुरा हुँदैन । हाम्रो देशको स्वतन्त्रता र सार्वभौम सत्ता अनकुल हुँदैन । यो राष्ट्रिय हित विपरीत हुन्छ’, खनालले भने ।

उनले अगाडि भने, ‘यो कुरा ३ करोड दिने कुरा गरियो, त्यस बेलादेखि नै गलत हो । त्यसपछि ५ करोड बनाउने कुरा पनि गलत हो र अहिले २० करोड बनाउने कुरा पनि गलत हो । यदि छिमेकी देश भारतले हामीलाई अनुदान दिने हो भने कति अर्ब, कति खर्ब दिने हो, त्यो हामी लिन्छौं र मुरीमुरी धन्यवाद दिन्छौं ।’

नेपाल सरकारले आफैं योजना बनाएर कार्यान्वयन गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै खनालले भने, ‘यो अधिकार यो गठबन्धन सरकारले सुरक्षित राख्न सकेन । त्यसकारणले यो राष्ट्र हित विपरीतको कुरा हो ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button