फिल्म ‘सतीदेवी’को ठुङ मार्ने फोटो प्रतियोगिता

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘सतीदेवी’ रिलिजअघि नै चर्चामा छ । ७ भदौमा रिलिज तयारीमा रहेको फिल्मसँग अन्य फिल्म नजुधाउन चलचित्र पत्रकार संघले आग्रह गरिसकेको छ ।
यसैबीच, लक्ष्मण सुवेदी निर्देशित सामाजिक कथावस्तुमा आधारित फिल्मले ‘ठुङ मार्नूस, नगद पुरस्कार जित्नूस’ थिमसहित फोटो प्रतियोगिताको घोषणा गरेको छ ।
निर्माण टिमले आइतबार मौलिकता झल्किने फिल्मको एउटा दृश्य सार्वजनिक गर्दै थिमअनुसारको फोटो पठाउन आग्रह गरेको हो । फोटोमा शीर्ष अभिनेत्री मलिका महत, सिर्जना अधिकारी, सुजीता शिवाकोटी र तीन बाल कलाकार हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पिँढीमा लस्करै बसेर एकअर्काको ठुङ मारिरहेका छन् ।
प्रतियोगीतामा सहभागी हुनका लागि परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको एउटा फोटो खिचेर आफ्नो फेसबुक र इन्टाग्राममा ‘फिल्म ‘सतीदेवी’ ०७ भदौबाट प्रदर्शन हुदैछ’ भन्ने क्याप्सन लेखेर पोस्ट गरी ‘सतीदेवी नेपाली फिल्म’ नामक फेसबुक पेजमा ट्याग, मेन्सन र इनबक्समा पठाउनुपर्ने भएको छ । साथै, लक्ष्मणजी नामक इन्स्टाग्राम ह्याण्डलमा पनि मेन्सन गर्नुपर्ने भएको छ ।
प्राप्त फोटोमध्ये प्रथम स्थान हासिल गर्ने एउटा फोटोलाई रु २०,००० दोस्रोलाई १०,००० र तेस्रो हुनेलाई रु ५,००० नगद पुरस्कार अनलाइनमार्फत प्रदान गरिने निर्माण कम्पनी दिलासा क्रिएसनले जनाएको छ ।
फोटो पठाउने अबधि साउन ३१ गते रातीसम्म तोकिएको छ भने प्रतियोगिताको निर्णय ३ भदौमा हुने र बिजेतालाई सोही दिन नगद पुरस्कार उपलब्ध गराइने बताइएको छ ।
नारीप्रधान कथावस्तुमा निर्माण भएकाले उनीहरुको सम्मानमा यसलाई तीज अवसरमा रिलिज गर्न लागिएको जनाइएको छ । ‘सतीदेवी’ पूर्णरुपले छोरी, नारीप्रधान कथामा छ । त्यसकारण उहाँहरुको सम्मान तथा अधिक सहभागिताका लागि यो प्रतियोगीता गरेका हौ,’ सुवेदीले बताए ।
फिल्ममा मलिकासहित कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दिपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, सुजीता शिवाकोटी, मनिषा सापकोटाको पनि अभिनय छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।