Main

बाटोमा ठोक्किएको निहुँमा विवाद, चक्कु हानेर हत्या

३० वैशाख, काठमाडौं । बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक युवकको हत्या भएको खुलेको छ ।

काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी टोलमा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति साढे ७ बजेतिर हत्याको भएको थियो । हत्या आरोपमा पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्दा सामान्य निहुँमै हत्या भएको खुलेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शनिबार राति बाटो हिँड्दा ठोक्किएको निहुँदामा ४ जना किशोरहरुसँग धिमालको विवाद भएको थियो । त्यही विवादपछि किशोरहरुको समूहले चक्कु प्रहार गरी हत्या गरेको पाइएको एसपी अधिकारीले बताए ।

धिमालको हत्या आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु १८ वर्षभन्दा कम उमेरका रहेकाले प्रहरीले उनीहरुको नाम, ठेगाना सार्वजनिक गरेको छैन । उनीहरु साथीको जन्मदिनको भोजमा गएर फर्किएको पाइएको छ ।

प्रहरीका अनुसार उनीहरुले मदिरा पिएका थिए । नशामा रहेको र ठोक्किएको निहुँमा विवाद बढ्दै जाँदा चक्कु हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी अधिकारीले बताए ।

‘मृतक र पक्राउ परेकाहरु बीच कुनै चिनजान पनि देखिँदैन । अन्य कारणहरु पनि देखिँदैन । ठोक्किएकै निहुँमा हत्या भएको देखिन्छ’ एसपी अधिकारीले भने ।

किशोरहरुको आक्रमणबाट धिमालसँगै रहेका मोरङकै मनिष चौधरी सामान्य घाइते भएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button