बैंकको वित्तीय विवरणले किन आत्तिए सेयर लगानीकर्ता ?

८ कात्तिक, काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार औसत खुद नाफा २१ प्रतिशत बढेको छ ।
गत आव प्रथम त्रैमासमा २० वाणिज्य बैंकले १३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ नाफा कमाएका थिए । चालु आव सोही अवधिमा १६ अर्ब १८ करोड ९५ लाख नाफा कमाएका छन् । सर्सती हेर्दा बैंकको नाफा बढ्यो तर बुधबार सेयर बजारमा यहीं बैंकिङ सेक्टर सबैभन्दा धेरै घट्यो ।
यहीं सेक्टरले समग्र बजारलाई झार्यो । बुधबार नेप्से ०.७६ प्रतिशत घट्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.७० प्रतिशत घट्यो ।
नाफा बढ्दा बैंकको सेयर मूल्य झन् बढ्नुपर्ने हो तर किन उल्टो देखियो ? अधिकांश लगानीकर्ता समेत यसमा रनभुल्ल देखिएका छन् । तर त्यो नाफा केबाट देखियो ? अन्य सूचकबारे धेरै लगानीकर्ता अनभिज्ञ रहे ।
पहिलो, बैंकहरूको पहिलो त्रैमासिक वित्तीय विवरणमा औसत नाफामा सुधार देखिए पनि त्यो नाफा खुद ब्याज आम्दानी (मुख्य बिजनेस) बढेर नभई नियामकीय प्रावधानमा केही सहजताका कारण भएको छ । बैंकहरूको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ६.०९ प्रतिशतले घटेर ४६ अर्ब ५५ करोडमा झरेको छ । बैंकहरुको मुख्य बिजनेस नै यहीं हो ।
यो घट्नुले बैंकहरुको बिजनेस घटेको संकेत गर्छ । जसले आगामी दिनमा पनि नाफामा चुनौति रहेको स्पष्ट संकेत गरेको छ ।
राष्ट्र बैंकले नियामकीय व्यवस्थामा लिएको लचकताले गर्दा सम्भावित कर्जा नोक्सानी व्यवस्था घटेको छ । जसले खुद ब्याज आम्दानी घट्दा पनि बैंकहरूको नाफा समग्रमा बढेको छ । यस्तो नाफा दिगो हुँदैन भन्ने विषय लगानीकर्ताले बुझ्नु जरुरी छ ।
मौद्रिक नीतिमार्फत असल वर्गमा वर्गीकरण भएको कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा चालु आवबाट १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको थियो ।
अर्कोतर्फ बैंकहरुको कस्ट अफ फन्ड बढेको छ । संकलन भएको निक्षेपको मुद्दतीमा अहिले पनि ६ प्रतिशतसम्म ब्याज दिएका छन् । तर त्यो रकम कर्जा जान सकेको छैन । यसले लागत बढाएको छ । कर्जा विस्तार बढ्ने संकेत वित्तीय विवरणले पनि देखाएकै छैन ।
अर्को यो बेला बैंकहरुको निष्क्रिय कर्जा राम्रैसँग घट्ने अनुमान लगानीकर्ताले गरेका थिए । तर अनुमानविपरित निष्क्रिय कर्जा बढ्यो । तीन बैंकको त यस्तो कर्जा ५ प्रतिशत नाघ्यो ।
यसले गर्दा नउठेको साँवा ब्याज उठाउन बैंकहरु अझै असफल भएको स्पष्ट संकेत गर्छ । निष्क्रिय कर्जा बढ्नुले देशको आन्तरिक अर्थतन्त्र जटिल नै रहेको संकेत पनि गर्छ । जसले गर्दा बैंकिङ सेक्टरका लगानीकर्तामा बुधबार चरम निराशा देखियो ।
तर बजारका लागि केही आशलाग्दा पक्ष पनि छन् । राष्ट्र बैंकको सहुलियतकै कारण भए पनि औसत वितरणयोग्य नाफा बढेको छ । राष्ट्र बैंकले असल वर्गमा वर्गीकरण भएको कर्जाको नोक्सानी व्यवस्थामा थप कसिलो बनाउनुपर्ने जरुरत देखिँदैन, अझै खुकुलो गराउँदै लैजान सक्छ ।
बजारमा पर्याप्त तरलता रहेकाले ब्याजदर अझै घट्दै जान सक्छ । यसले लगानी सेयर बजारतिरै मोडिन सहयोग गर्छ । हरेक देशमा ब्याजदर घट्दा सेयर बजारले गति लिने गरेको छ ।
बैंकमा पहिलेको मुद्दती रकम परिपक्व हुँदै जाँदा नविकरणपछि घटेको ब्याज नै बैंकहरुले दिने भएकाले आगामी समय कस्टअफ फन्ड पनि घट्दै जानेछ । ‘अब कर्जा असुली र लगानीमा समेत सुधार हुँदै जाँदा वित्तीय विवरणमा सकारात्मक प्रभाव पर्छ भन्ने अपेक्षा हो,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।