Main

बैंकिङ उठेसँगै नेप्से १ वर्षकै उच्च विन्दुमा, आउने साता के होला ?

२८ असार, काठमाडौं । गत साता २११९ अंकमा रहेको सेयर बजार यो साता २२०४ अंकमा पुगेको छ । यो साता सेयर बजार ४.०१ प्रतिशत बढ्यो । करिब एक वर्षकै उच्च विन्दुमा पुगेको छ । हाल कायम बजार परिसूचक २२०४ अंक साउन ७ यताकै उच्च हो ।

यसअघि साउन ७ गते नेप्से परिसूचक २२२७ अंकमा बन्द भएको थियो । करिब २ वर्षदेखि नै सेयर बजार न्यूनतम १८०० देखि अधिकतम २२२७ अंकबीचमै घुमिरह्यो । जसले गर्दा लगानीकर्ता तथा कारोबारीले २२०० अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए ।

जसले गर्दा प्राविधिक रुपमा विश्लेषण गरेर लगानीको रणनीति बनाउनेका लागि पनि आगामी साता अझै महत्त्वपूर्ण छ । कतिपयले सेयर बजारको यो वृद्धिलाई राजनीतिक सत्ता समीकरणसँग जोडेर हेर्ने गरेका छन् । नयाँ सरकार गठन प्रक्रियामै छ । जसले गर्दा राजनीतिक प्रभावको असर आगामी साता पनि पर्न सक्नेछ ।

यो साता ५ दिन खुलेको बजारमा ४ दिन बजार बढ्यो । आइतबार २१.२७ अंक बढेको बजार सोमबार ४.६२ अंक घट्यो । मंगलबार १५.७९, बुधबार २३.२५ र बिहीबार २९.२१ अंक बढ्यो । कारोबार रकम पनि उल्लेख्य  छ । आइतबार ६ अर्ब २९ लाख, सोमबार ४ अर्ब ५६ करोड, मंगलबार ५ अर्ब ५३ करोड, बुधबार ५ अर्ब ७४ करोड तथा बिहीबार ७ अर्ब ८ करोडको कारोबार भयो ।

बैंकिङले उचाल्यो समग्र बजार

यो साता बैंकिङ समूहकै कारण नेप्सेमा उच्च वृद्धि देखिएको छ । यद्यपि वृद्धिदरका आधारमा भने माइक्रोफाइनान्स समूह सबैभन्दा अगाडि रह्यो । जुन सूचक ६.५९ प्रतिशत बढ्यो ।

बैंकिङ समूह वृद्धिदरका आधारमा दोस्रो स्थानमा रहे पनि सबैभन्दा शक्तिशाली समूह रहेकाले यसको प्रभाव सबैभन्दा धेरै परेको हो । बैंकिङ समूहको बजार हिस्सा सबैभन्दा धेरै २५.८ प्रतिशत छ । यहीं कारण बैंकिङ समूहको वृद्धिले नेप्सेलाई धेरै उतारचढाव गराउँछ । यो साता बैंकिङ समूहमा आएको ५.२९ प्रतिशतले नै समग्र नेप्से वृद्धिमा महत्वपूर्ण योगदान पुग्यो ।

बैंकिङ समूहमा ‘हाई क्याप’ कम्पनी छन् । यो साता हाई क्याप कम्पनीको मूल्य बढ्नुले समग्र बजारलाई सकारात्मक लयमा डोहोर्‍याएको छ । यसअघि बजारका पाँच समूह होटल तथा पर्यटन, फाइनान्स, माइक्रोफाइनान्स, विकास बैंक र व्यापार सूचक राम्रै दरले बढिसकेका छन् ।

अब नेप्सेको वृद्धि नै बैंकिङ र हाइड्रोपावर समूहमा बढी आश्रित छ । बैंकिङपछि बजार उतारचढावका लागि सबैभन्दा ठूलो शक्ति १५ प्रतिशत हाइड्रोपावरमा समूहमा छ, जुन समूह लामो समयदेखि साइडवेज प्रवृत्तिमै छ । यदि बैंकिङ र हाइड्रोपावर समूहले साथ दिएमा नेप्से परिसूचकले दुई वर्षको साइडवेज प्रवृत्ति नै तोड्न सक्ने लगानीकर्ताको भनाइ छ ।

लोक्यापका कम्पनी जब ओभरभ्यालुड महसुस हुन्छ, त्यसपछि हाइक्याप कम्पनीतिर लगानी मोडिने र यसले नै बजारलाई बुल प्रवृत्तिमा लैजाने लगानीकर्ताको भनाइ छ । यो साता बैंकिङ सूचकमा उल्लेख्य वृद्धि हुनुले लगानी हाइक्याप कम्पनीतिर मोडिएको बुझ्न सकिन्छ ।

आउने साता के होला ?

दुई वर्षयता सेयर बजारले पटक–पटक १८ सय बिन्दु नजिक आएर फर्किएको छ । ९ असोज २०७९ मा १८१५ अंकमा आएको बजार सोही वर्ष १६ पुसमा २२११ अंकमा पुग्यो । १ जेठ २०८० मा फेरि बजार १८१८ बिन्दुसम्म झर्‍यो । सोही वर्ष ७ साउनमा २२२७ बिन्दुसम्म पुग्यो ।

२२२७ भन्दा माथि जान नसकेपछि ओर्लिएको बजार १९ कात्तिक २०८० मा १८२६ बिन्दुमा झर्‍यो । तर, उक्त अवधिको तीन महिनामै ३ माघ २०८० मा २२ सय पुगेको बजार त्यसयता १९५८ बिन्दुभन्दा तल झर्न सकेन । अहिले २२०४ अंकमा पुगिसकेको छ ।

बैंकको ब्याजदर, लगानीयोग्य रकमको पर्याप्तता जस्ता पक्षले पनि बजारलाई साथ दिएको छ । जसले गर्दा बजारले यो सिजनका लागि १८१८ लाई ‘बटम प्वाइन्ट’ बनाएको अनुमान छ ।

त्यसमाथि आर्थिक वर्षको चौथो त्रैमास सकिने अवधि भएकाले असार मसान्तले बजारलाई नकारात्मक असर पार्ने अनुमानविपरित बजार बढेको छ । जसले गर्दा आउने साता पनि बजार वृद्धिमा निरन्तरता हुन सक्ने आधार बनेको छ ।

तर कतिपय कम्पनीमा लगानीकर्ताले राम्रै नाफा कमाइसकेकाले प्रोफिट बुकिङको शक्ति बढ्न गएमा भने बजार केही दिन झर्न सक्नेछ ।  प्राविधिक तथा सैद्धान्तिक दुवै पक्षबाट आगामी साताको बजार महत्त्वपूर्ण छ । २२ सयमाथिको प्रतिरोधक, नयाँ सरकार गठन प्रक्रिया तथा मौद्रिक नीतिको संभावित परिदृष्य नै आगामी साताको बजारका लागि महत्त्वपूर्ण छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button