‘मिस नेपाल पिस’को उपाधिका लागि भिडदै २४ जना नर्स

काठमाडौँ । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले प्रारम्भिक अडिसनबाट फिनालेका लागि २४ प्रतियोगी सार्वजनिक गरेको हो ।
प्रतियोगिताको यो ७ औँ संस्करण हो । यस संस्करणको प्रारम्भिक अडिसनमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसयभन्दा बढी अस्पतालमा कार्यरत २ सयबढी नर्सले अडिसन दिएका थिए । फिनालेका लागि २४ प्रतियोगी छानिएको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।
छानिएका प्रतियोगीमा प्रलिजा ढकाल, दिव्या बम ठकुरी, प्रिया सुनुवार, नबिना ह्यु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुची देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सीमा राउत, रिया जोशी, गुञ्जना बाँस्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्ष्य कोइराला, बिधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल, पला रेग्मी छन् ।
छनोट भएका प्रतियोगी फिनालेका लागि संचार कला, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षणमा जुटिसकेका छन् । पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको प्रतियोगीताको शीर्ष विजताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउने छिन् ।
‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका नर्सिङ सुन्दरीको सहभागिता हुँदै आएको छ ।
अन्तराष्ट्रियस्तरमा शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायी बोध गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् । फिनाले जेठ ५ गते हुने जनाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।