मुख्य प्रशिक्षकहरुसँग प्रशिक्षण र योजनाबारे राखेपको छलफल

११ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्यालगायतका विषयमा चासो राख्दै बिहीबार छलफल गरेका छन् ।
सो अवसरमा सदस्यसचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सहि ठाउँमा सदुपयोग गर्नु पर्ने सुझाव दिए । साथै प्रशिक्षकहरुले आवश्यकता अनुसार समय–समयमा रिफ्रेसर कोर्ष गर्नु पर्नेमा पनि उनले जोड दिए ।
सदस्य सचिव घिसिङले विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धी हासिल गर्न नसकिने बताउँदै वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनु पर्ने आवश्यकता रहेकव बताए । उनले वैज्ञानिक प्रशिक्षणका लागि फिट्नेस सेन्टर निर्माण र सोका लागि आवश्यक पर्ने सामाग्री खरिदको प्रकृया अगाडि बढिसकेको बताए ।
सदस्यसचिव घिसिङले मुख्य प्रशिक्षकको प्रगति विवरणका विषयमा जानकारी लिन कम्तीमा माहिनामा एक पटक बैठक समेत राख्ने बताए ।
छलफलमा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, उप–निर्देशक विष्णु सिंहसहित भारोत्तोलन, कुस्ती, उसु, भलिबल, क्रिकेट, जुडो, ब्याडमिन्टन, शारीरिक सुगठन, लनटेनिस, टेबलटेनिस, पौडी, जिम्न्याष्टिक, तेक्वान्दो, बास्केटबललगायत खेलका मुख्य प्रशिक्षकको उपस्थिति रहेको थियो ।
सो अवसरमा मुख्य प्रशिक्षकहरुले आ-आफ्नो खेलको अवस्थाबारे जानकारी गराउँदै वर्तमान समस्या बारे अवगत गराएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।