राष्ट्रिय सभा सदस्यहरूले भने- ताइवानका भूकम्प पीडितलाई नेपालले सहयोग गरोस्

२१ चैत, काठमाडौं । ताइवानमा भूकम्पबाट भएको धनजनको क्षतिप्रति नेपालका सांसदहरूले पनि दुःख व्यक्त गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरूले ताइवानलाई सक्दो सहयोग गर्न नेपाल सरकारलाई आग्रह समेत गरे ।
राष्ट्रिय सभा सदस्य सुरेश आलेमगर र जितजंग बस्नेतले ताइवान यतिबेला दुःखमा रहेको भन्दै नेपाल सरकारबाट सक्दो सहयोग गर्नुपर्ने बताएका हुन् । आलेमगरले ताइवान भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले भने, ‘यो सन्दर्भमा हाम्रो सरकारले जेजस्तो सहयोग गर्न सक्छ, त्यो गर्नका लागि सभाध्यक्षमार्फत हार्दिक अनुरोध गर्न चाहान्छु ।’
राष्ट्रिय सभाका अर्का सदस्य बस्नेतले ताइवानमा विनाशकारी भूकम्पबाट ठूलो धनजनको क्षति भएको भन्दै दुःख व्यक्त गरे । उनले भने, ‘निधन भएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहान्छु । ठूलो मानवीय क्षति भएको कारणले नेपाल सरकारले पनि केही सहयोग गरोस् ।’
बुधबार बिहान ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी अहिलेसम्म ७ जनाको मृत्यु भएको र ७०० बढी घाइते भएको विवरण आएको सीएनएनले जनाएको छ ।
ठूला घर लगायतका भौतिक संरचनाहरू भत्किएका छन् । भग्नावशेषबाट उद्धार गर्ने, घाइतेहरूको उपचार गर्ने र भूकम्प प्रभावितहरूलाई राहत सामग्री पुर्याउने काम जारी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।