Main

ललितपुरको चिडियाखानामा अब ‘कञ्चन’ हिउँचितुवा अवलोकन गर्न पाइने (तस्वीरहरू)

९ कात्तिक, काठमाडौं । ललितपुरको जावलाखेलस्थित चिडियाखानामा अब हिउँचितुवा पनि अवलोकन गर्न पाइने भएको छ ।

झण्डै एक वर्ष अघि मोरङको उर्लाबारी नगरपालिकामा फेला परेको हिउँ चितुवालाई आजदेखि चिडियाखानामा अवलोकनका लागि राखिएको हो । वन मन्त्री ऐनबहादुर शाहीले शुक्रबार अपराह्न हिउँ चितुवा अवलोकनको शुभारम्भ गरे ।

कञ्चनजंघा संरक्षण क्षेत्रमा विचरण गर्ने क्रममा उर्लावारी पुगेको अनुमान गरिएको यो हिउँ चितुवालाई चिडियाखानाले ‘कञ्चन’ नामकरण गरेको छ ।

समुद्री सतहभन्दा तीन हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा विचरण गर्ने हिउँ चितुवा २०८० साल माघ ९ गते मोरङको उर्लाबारी नगरपालिका वडा नं. १ चारघरे क्षेत्रमा फेला परेको थियो ।

समुद्री सतहभन्दा १३० मिटरको मात्रै उचाइमा रहेको चारघरेको बाँसघारीमा फेला परेको उक्त हिउँ चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले बेहोस बनाएर उद्धार गरी ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ल्याएको थियो ।

त्यतिबेला पछाडिको बायाँखुट्टाले टेक्न असहज अवस्थामा उद्धार गरिएको सो हिउँ चितुवालाई पशु चिकित्सकले निरन्तर रेखदेख र उपचार गरेका थिए । अहिले पूर्ण रुपमा स्वस्थ भएकोले अवलोकनका लागि राखिएको सदर चिडियाखानाले जनाएको छ । त्यसको बासलाई सुरक्षित वातानुकूलित वातावरणमा राखिएको अधिकारीहरुले बताएका छन् ।

तस्वीरहरू: आर्यन धिमाल/अनलाइनखबर

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button