विश्वभर फिल्मको कमाइ बढ्यो, ‘विक्ड’ र ‘ग्लाडिएटर २’ले ल्याए उछाल

काठमाडौँ । सांगीतिक एडप्टेसन ‘विक्ड’ र एक्सन फिल्म ‘ग्लाडिएटर २’ले विश्व बक्स अफिसमा उछाल ल्याएका छन् । पछिल्लो समय सुस्त देखिएको फिल्मको अन्तर्राष्ट्रिय बजारलाई यी दुईले चलायमान बनाएका छन् ।
पछिल्लो सप्ताहन्तमा यी दुई फिल्मको संयुक्त टिकट विक्री २७०.२ मिलियन डलर छ । हलिउड संचारमाध्यमले यसलाई ‘बिदा याम’मा सिनेमा घरलाई उपहार भैरहेको बताएका छन् ।
बक्स अफिसको बलियो पुनरागमनले हलिउडलाई राहत मिलेको छ । पछिल्लो वर्ष हलिउड निर्माता र स्टुडियोले लागत र कर्मचारी कटौती गरिरहेका छन् । उपभोक्ता भिडियो स्ट्रिमिङ प्लाटफर्मतर्फ आकर्षित भैरहेकाले स्टुडियो संकटमा छन् ।
‘फिल्मकर्मी र बक्सअफिस पण्डित सप्ताहन्तको नतिजालाई पर्खेर बसिरहेका छन्, कोही पनि निराश छैनन्’ वितरण कम्पनी प्यारामाउन्ट पिक्चर्सका अध्यक्ष क्रिस एरोन्सनले भने ।
युनिभर्सल पिक्चर्सको फिल्म ‘विक्ड’ पछिल्लो साता उत्तर अमेरिका र अन्तर्राष्ट्रिय बजारको शीर्षस्थानमा छ । यसले अमेरिका र क्यानडाका हलमा ११४ मिलियन डलर कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा ५०.२ मिलियन डलर कमाउँदै यसले विश्वब्यापी १६४.२ मिलियन डलर कमाएको छ ।
‘ब्रोडवे म्युजिकल’ भनिने संगीत शैलीको यो फिल्मको ओपनिङ यो जनराको अहिलेसम्मकै उच्च रहेको वितरक युनिभर्सलले उल्लेख गरेको छ । स्टुडियोकै सन् २०१२ को फिल्म ‘लेस मिजरेबल’को कमाइलाई पनि यसले उछिनेको छ ।

प्यारामाउन्टको ‘ग्लाडिएटर २’ले विश्वब्यापी १०६ मिलियन डलर कमायो । उत्तर अमेरिकामा यसको कमाइ ५५.५ मिलियन डलर छ । दुई दशकअघि अस्करमा उत्कृष्ट अस्कर जितेको प्यारामाउन्टको फिल्मको यो दोस्रो श्रृंखला हो ।
यी दुई फिल्मलाई प्रशंसकले ‘ग्लिक्ड’ भन्छन् । यी दुई फिल्मले घरेलु बक्सअफिसमा संयुक्तरुपमा १६९.५ मिलियन डलर कमाए जसले सप्ताहन्तको बक्सअफिसमा १६९.५ मिलियन डलर कमाए । कमस्कोरका अनुसार जुलाइमा ‘डेडपुल एन्ड वुल्भरिन’पछि यो उच्च सप्ताहन्त ओपनिङ हो ।
यसअघि सन् २०२४ मा रिलिज भएका ‘बार्बी’ र ‘ओपेनहाइमर’ले महामारी तथा लेखक र कलाकारको हड्तालले संकटग्रस्त हलिउडलाई उद्वार गरेका थिए । यद्यपी, ‘जोकर ः फोली ए ड्यूक्स’ र ‘भेनम ः द लास्ट डान्स’ अपेक्षित फिल्म असफल भएपछि यसले बजारलाई ठूलै धक्का दिए ।
पछिल्लो कमाइले एएमसी थिएटर, सिनेप्लेक्स र सिनेमार्कजस्ता विश्वव्यापी चेनलाई राहत दिएका छन् । जुन चेनहरू यतिबेला डिज्नीको आगामी एनिमेटेड फिल्म ‘मोआना २’लाई आउँदो शुक्रबार विश्वब्यापी प्रदर्शनको तयारीमा छन् ।
‘डिसेम्बर र नयाँ वर्षमा बलियो बक्स अफिसको लागि यो कमाइ एक ठूलो उत्प्रेरक हो’ हल संचालकका राष्ट्रिय संघका अध्यक्ष र सीइओ माइकल ओ’लरीले रोयटर्ससँग भने । अमेरिका र क्यानडामा फिल्मको टिकट बिक्री कोभिड महामारीको स्तरभन्दा तल झरेको छ किनकी सिनेमाघरले स्ट्रिमिङ प्लाटफर्म र हलिउड हड्तालबाट अवरोध खेपिरहेका छन् ।
स्टुडियो र थिएटर मालिकहरू आशावादी छन् कि ‘मोआना २’ले आउँदो साताको अन्त्यमा बलियो ब्यापारको नेतृत्व गर्नेछ । सन् २०२४ समाप्तीअघि आउने अन्य फिल्ममा वाल्ट डिज्नीको ‘मुफासा ः द लायन किंग’, प्यारामाउन्टको ‘सोनिक द हेजहग ३’ र सर्चलाइट पिक्चर्सको ‘ए कम्प्लीट अननोन’ छन् जसमा तिमोथी चालमेटले संगीतकार बब डिलनको रूपमा अभिनय गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।