Main

सञ्चय कोषले घटायो ब्याजदर

१ साउन, काठमाडौं । कर्मचारी सञ्चय कोषले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न किसिमका कोष तथा सापटीको ब्याजदर घटाएको छ ।

सञ्चय कोषका अनुसार सञ्चय कोष रकम तथा निवृत्तिभरण कोष रकममा प्रदान गर्ने तथा सञ्चयकर्ता सापटीमा लिने ब्याजदर परिवर्तन गरी घटाएको हो ।

कोषका प्रशासक जितेन्द्र धितालले जारी गरेको सूचना अनुसार सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५.५० प्रतिशत तोकिएको हो ।

त्यस्तै सञ्चयकर्ता सापटी अन्तर्गत विशेष सापटीमा ६.६०, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.५० तथा जग्गा खरिद सापटी र सरल सापटी ८ प्रतिशत तोकिएको छ ।

त्यसैगरी विशेष सापटी बाहेक धितोमा आधारित सापटीको ब्याज नियमित चुक्ता गर्ने सञ्चयकर्ताका हकमा ०.२५ प्रतिशत बिन्दुले छुट दिने निर्णय सञ्चय कोष सञ्चालक समितिको १६८७औं बैठकले गरेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ मा कोषले सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ७.५० प्रतिशत थियो ।  यसैगरी घर सापटी र जग्गा खरिद सापटी कर्जा अधिकतम १ करोड रुपैयाँसम्म दिन्थ्यो, जसको ब्याजदर ९.२५ प्रतिशत थियो । त्यस्तै २५ लाखसम्म पाइने घर मर्मत सापटी कर्जाको ब्याजदर पनि ९.२५ प्रतिशत नै थियो ।

त्यसैगरी १० देखि २५ लाख रुपैयाँसम्म लिन पाइने शैक्षिक सापटी कर्जाको ब्याजदर गत आवमा ९.२५ प्रतिशत र ३० लाखसम्म पाइने सरल चक्र कर्जाको ब्याजदर ९.७५ प्रतिशत थियो ।

हेर्नुहोस् सूचना :

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button