‘सानो संसार’ असोज ११ गते नेपालसहित विदेशमा पनि, ट्रेलरलाई सकारात्मक प्रतिक्रिया

काठमाडौं । अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘सानो संसार’को ट्रेलरले युट्युवमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिरहेको छ । अहिलेसम्म ३ लाख २३ हजार पटक हेरिएको ट्रेलरको समग्र प्रतिक्रिया सकारात्मक छ ।
म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक ट्रेलरले झण्डै ७ हजार लाइक र २०० भन्दा बढी कमेन्ट प्राप्त गरेको छ । रिल्स र टिकटकमा पनि दर्शकले भिडियो बनाएर प्रतिक्रिया दिइरहेका छन् ।
चक्र नामक एक सामाजिक संजालका प्रयोगकर्ता युट्युवमा लेख्छन्, ‘हरेक साधारण नेपालीको जीवनमा मेल खाने फिल्म, एकचोटी हेर्नैपर्छ ।’ बेकह्याम नामक अर्का प्रयोगकर्ताले सीतादेवी तिमिलसेनाको अभिनयको प्रशंसा गर्दै ‘माग्ने काकीको एक्टिङ कडा छ’ लेखेका छन् ।
पछिल्लो समय मध्यमवर्गीय परिवारको कथामा फिल्म नबनिरहेको बेला निर्माता अर्जुन कुमारले यो फिल्ममा लगानी गरेका हुन् । ‘यो वर्गको कथा पनि भनिनु जरुरी छ’ उनले अनलाइनखबरसँग भने, ‘हामीले प्रायः बेवास्ता गरिने कथामा फिल्म बनाएका छौं । आशा छ, दर्शकले रुचाउनुहुनेछ ।’
सिद्धार्थ पुडासैनी निर्देशित फिल्मले मध्यमवर्गीय परिवारको सुख, दुःख, हाँसो र रोदनको यथार्थ कथा पेश गर्छ । यसअघि चपली हाइट, फाटेको जुत्ता, द युगदेखि युगसम्मजस्ता चर्चित फिल्म निर्माण गरेका अर्जुन कुमारले नन-एक्टरलाई लिएर फिल्म बनाएका छन् ।
अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, सीतादेवी तिमिलसेना, शिशिर शिवाकोटी, सरिता भण्डारी, जीवन गौतमको अभिनय छ । ‘लुट’जस्ता हिट फिल्मका निर्माता माधव वाग्ले कार्यकारी निर्माता हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजको ब्यानरमा फिल्म बनेको हो ।
असोज ११ गते (सेप्टेम्बर २७)मा यो फिल्म नेपालसहित अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन हुने निर्माता अर्जुन कुमारले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।