सुदूरपश्चिमको विदेशी खेलाडी : नेपालमा चर्चित मुस्तफादेखि आईपीएल खेलेकासम्म

६ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) यही मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू मैदानमा आयोजना हुँदैछ ।
एनपीएलको पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम रोयल्सले खेल्दै छ ।
नेपाली राष्ट्रिय टिमका अलराउण्डर दीपेन्द्र सिंह ऐरी मार्की प्लेअर रहेको सुदूरपश्चिममा राष्ट्रिय टिमकै पूर्वप्रशिक्षक जगत टमाटा मुख्य प्रशिक्षक छन् भने मेन्टर अस्ट्रेलियाका चर्चित क्रिकेटर ब्राड हज रहेका छन् ।
एनपीएलका लागि हरेक फ्रेन्चाइजले चार विदेशी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्नेछ । खेलाडीको उपलब्धता हेरेर एक टिमले ६ जना सम्म विदेशी खेलाडी अनुबन्ध गर्न सक्ने प्रावधान छ ।
सुदूरपश्चिम रोयल्सले भने हालसम्म चारवटा विदेशी खेलाडी अनुबन्ध गरेको छ जसमा नेपालमा खेलेको अनुभव भएका खेलाडी समेत छन् । रोयल्सले स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलन, यूएईका अलराउन्डर रोहन मुस्तफा, न्युजिल्याण्डका पेस बलर स्कट कुगलेइन र इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर सैफ अली जैबलाई विदेशी कोटामा अनुबन्ध गरेको हो ।
कस्ता छन् सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी?
ब्रान्डन म्याकमुलन
स्कटयान्डका २५ वर्षीय ब्याटिङ अलराउन्डर म्याकमुलनले राष्ट्रिय टोलीबाट ओपनिङ गर्ने गर्छन् । दाँयाहाते ब्याटिङ गर्ने उनी मध्यम गतिको बल पनि फाल्न सक्छन् ।
सन् २०२३ मा टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले १६ खेल खेल्दा ६ अर्धशतक सहित ३८ को औसतले ४९७ रन बनाएका छन् । १४८.८० को स्ट्राइक रेट भएका उनीबाट विस्फोटक ओपनिङको अपेक्षा गरिन्छ । उनले २ विकेट पनि लिएका छन् ।
इन्टरनेशल लिग टी२०मा अबुधाबी नाइट राइडर्स तथा ग्लोबल टी२० लिगमा सर्रे जागुअर्सको टोलीमा पनि उनी समावेश छन् ।
सेफ अली जैब
इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर जैबले राष्ट्रिय टोलीबाट नखेले पनि इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्ने गरेका छन् । बाँयाहाते ब्याटिङ गर्ने उनले टी२०मा ७४ खेलमा १४० माथिको स्ट्राइक रेटले १२०० भन्दा बढी रन बनाएका छन् । भाइटालिटी ब्लास्टमा मात्रै उनले ११५० भन्दा धेरै रन बनाएका छन् ।
त्यस्तै स्लो लेफ्ट आर्म बलिङ गर्ने उनले १२ विकेट पनि लिएका छन् । उनले बकिङहामसायरको उमेर समूहसहित सिनियर टिम तथा नर्थहाम्पटनसायरबाट खेलेका छन् । त्यस्तै द हन्ड्रेड क्रिकेटमा नर्थन सुपरचार्जर्सबाट खेलेका छन् ।
रोहन मुस्तफा
यूएईका अलराउन्डर मुस्तफा नेपालमा हुने क्रिकेट लिगमा परिचित नाम हो । एसोसियटका उत्कृष्ट अलराउन्डर मध्ये एक रहेका उनी नेपाली राष्ट्रिय टोलीसँग पनि परिचित छन् । नेपालका क्लबमा खेल्दा होस् वा नेपालविरुद्ध यूएईबाट खेल्दा होस्, मैदान र दर्शकदीर्घामा छुट्टै तरंग पैदा हुन्छ ।
बाँयाहाते ब्याटिङ गर्ने उनले यूएईका लागि टी२०आईमा ५८ खेल खेल्दा १००० भन्दा बढी रन बनाएका छन् भने सबैखाले टी२० मा १३०० भन्दा बढी रन बनाएका छन् । दाँयाहाते अफस्पिन बलिङ गर्ने उनले ७५ विकेट पनि लिएका छन् ।
उनले यूएईको अबुधाबी टी-१० लिग, क्यानेडियन ग्लोबल टी२० लिग, इन्टरनेशल लिग टी२० खेलेका छन् भने नेपालमा यसअघि भएका धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग लगायतका प्रतियोगिताहरु पनि खेलिसकेका छन् ।
स्कट कुग्लेइन
न्युजिल्यान्डका बलिङ अलराउन्डर कुग्लेइनले तीव्र गतिको बल फ्याँक्ने गर्छन् । दाँयाहाते बलर उनले सन् २०१९ मा न्युजिल्याण्डका लागि टी२०आईमा डेब्यू गरेका थिए भने २०२१ पछि टी२०आई खेलेका छैनन् । त्यसबीचमा उनले टी२०आईमा १८ खेल खेल्दा १६ विकेट लिएका छन् । सबैखाले टी२० क्रिकेटमा गरी उनले १६२ खेल खेल्दा १६८ विकेट लिएका छन् । त्यस्तै ब्याटिङबाट पनि १००० भन्दा बढी रन बनाएका छन् ।
उनले चेन्नई सुपर किङ्सबाट भारतको चर्चित लिग आइपीएल खेलिसकेका छन् भने इन्टरनेशल लिग टी२०, क्यारेबियन लिगजस्ता विश्वका अन्य फ्रेन्चाइज लिगहरू पनि खेलेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।