सुनसरीमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु, बसमा आगजनी
२ मंसिर, विराटनगर । सुनसरीको खनारमा यात्रुबाहक बसले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ ।
कोशी राजमार्गअन्तर्गत खनारको शान्ति चोकमा मे १ ख ४५७४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा साइकल यात्री इटहरी उपमहानगरपालिका– १० की १३ वर्षीया सम्झना यादवको मृत्यु भएको हो।
स्थानीय जनता माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई स्कुलबाट घर फर्कदै गर्दा बसले ठक्कर दिएको थियो। ठक्करपछि बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनापछि घटनास्थलबाट भागेको बसलाई स्थानीयले कोशी राजमार्गको खनार चोकस्थित सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै आगो लगाइदिएका हुन्। आगलागीबाट बस पूर्ण रुपले क्षतिग्रस्त भएको छ ।
ठक्करपछि असन्तुष्ट बनेका स्थानीयले कोशी राजमार्ग अवरुद्ध गरेका छन् ।प्रहरीले अवरुद्ध सडक खुलाउन बल प्रयोग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार स्थानीयले सडक अवरुद्ध गरेपछि अहिले खनारको अवस्था तनावग्रस्त बनेको छ । स्थानीय आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रहरीले सडकमा जम्मा भएको भिडलाई तितरबितर पार्न हवाइ फायर र अश्रूग्यास प्रहार गरेको उनले बताए। तर स्थानीयले अझै सडक छाडेका छैनन्। सडक अवरुद्ध भएपछि प्रहरीले अन्य सवारीलाई अन्य सडकबाट गन्तव्यतर्फ पठाइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।