‘हिपहप मेला’मा झुमे तन्नेरी (तस्वीर)

काठमाडौं । हिपहप संगीत र नृत्य पछिल्लो समय नेपाली तन्नेरीमाझ लोकप्रिय छ । ‘जेनेरेसन जेड’ भनिने पछिल्लो पुस्ताले रचनात्मक अभिव्यक्तिको लागि कलाको यो आयामलाई आत्मसात गर्न थालेको छ ।
दरबारमार्गस्थित होटल अन्नपूर्णको पेभेलियन शनिबार हिपहपमय बन्यो । नेपाली र अमेरिकी कलाकारको प्रस्तुतिमा नेपाली युवा झुमे । त्यहाँ संगीतको माहोल मात्र थिएन, भित्तेचित्रमा तन्नेरीले कला अभिव्यक्त गरे ।
अमेरिकी राजदूत डिन आर थोम्पसनले पनि ग्राफिटी चित्र कोर्दैै तन्नेरीको कलात्मक र रचनात्मक स्वतन्त्रतामा साथ दिए ।
नेपाल हिपहप फाउण्डेसनसँगको सहकार्यमा अमेरिकी दूतावासले यस्तो प्लेटफर्म आयोजना गरेको थियो । ‘खुलौं बोलौं’ नारासहित आयोजित हिपहप मेला शनिबार दिउँसोभर चल्यो । दूतावासले आयोजना गरेको ‘आर्ट इन्भोय’ कार्यक्रम २०२४ अन्तर्गत बिराटनगरपछि काठमाडौंमा हिपहप कन्सर्ट सम्पन्न भएको हो ।
अमेरिकी कलाकारहरु माजी मुताफा, सान लिम, सब्सटेन्सियल र डिजे फ्लेगसहित चर्चित नेपाली र्यापरहरु लाउरे, प्रोफेसर ट्रिक्स, भ्योमा, कुटुम्ब ब्याण्डका किरण नेपाली, आमाजुमी, र-बार्जका कलाकार लगायतले प्रस्तुति दिए ।
नेपाली युवा हिपहप कलाकार र उत्साही सहभागिलाई नयाँ हिपहप ज्ञान र विधि सिकाएकोमा दूतावासले अमेरिकी कलाकारलाई धन्यवाद समेत दिएको छ । ‘यो हिपहप मेलाले नेपाली कलाकारलाई संगीत र नृत्यको माध्यमबाट कला प्रस्फुटन गर्न तथा नागरकि र समुदायसँग मिलेर काम गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको रुपमा हामीले लिएका छौं’ दूतावासले विज्ञप्तिमा भनेको छ ।
दूतावासका अनुसार फेब्रुअरी १६ देखि सुरु भएको आर्ट इन्भोय कार्यक्रम २६ तारिखसम्म संचालन हुनेछ । यो कार्यक्रमका लागि अमेरिकी कलाकारहरु यतिबेला नेपालमा छन् । चर्चित अमेरिकी डिजे वाल्सी फायरले गत बुधबार काठमाडौंमा प्रस्तुति समेत दिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।