Main

घान्द्रुकको रेष्टुरेन्टमा महिलामाथि अभद्र व्यवहार, ३ युवा पक्राउ

१३ जेठ, काठमाडौं । कास्कीको घान्द्रुकस्थित एक रेष्टुरेन्टमा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा तीन युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाग्लुङको जैमिनी नगरपालिका–८ का २८ वर्षीय भीम थापा, सोही ठाउँका ३१ वर्षीय डोनाथ पौडेल र सोही ठाउँका २९ वर्षीय तेज हमाल छन् ।

पक्राउ परेकाहरू ११ जेठमा राति अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा रहेको अन्नपूर्ण गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा झैझगडा गरेको भन्ने सूचना आएपछि प्रहरी चौकी घान्द्रुकको टोली घटनास्थल पुगेको थियो ।

सो क्रममा पोखरा महानगरपालिका–४ सिद्धार्थचोक बस्ने एक परिवारका ८ सदस्य रमाइलो गरिरहेका बेला उनीहरुले अभद्र व्यवहार गरेको पाइएपछि पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताए ।

महिलाहरुमाथि अभद्र व्यवहार गरेपछि होटल सञ्चालक तथा कर्मचारीले सम्झाउँदा समेत उनीहरुले बियरका बोतल र लट्ठी समेत प्रहार गरी घाइते बनाएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button