अष्ट्रेलियामा ‘छक्कापन्जा ५’ले पहिलो साता कति कमायो ?
सिड्नी (अष्ट्रेलिया) । नेपालसँगै अष्ट्रेलियामा पनि प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ५’ले यहाँ नयाँ रेकर्ड राखेको छ । यो फिल्मले पहिलो साता डेढकरोड भन्दा माथिको कलेक्सन गरेको छ ।
अष्ट्रेलियाली वितरक कम्पनी नमस्ते इन्टरटेनमेन्टले आक्रामक कमाइसँगै फिल्मले पहिलो साता व्यवसायिक सफलता पाएको बताए । कम्पनीका देव कार्कीले फिल्मले सात दिनमा डेढकरोड रुपैयाँ कमाएको दावी गरे ।
यो फिल्मलाई नमस्ते इन्टरटेनमेन्ट, रगडेल ब्वायज र गिरिश इन्टरटेनमेन्टले संयुक्त रूपमा अष्ट्रेलियामा रिलिज गरेका हुन् ।
अष्ट्रेलियामा चलेका नेपाली फिल्म मध्ये ‘छक्कापन्जा ५’ नै पहिलो साता यति धेरै ब्यापार गर्ने पहिलो फिल्म भएको वितरकको दावी छ । कार्कीले आगामी हप्ता ब्यापार पहिलो साताको तुलनामा अझै बढ्न सक्ने अनुमान गरे ।
‘दशैंको चहलपहलमा ब्यस्त रहनुभएका दर्शक पनि अब बाहिर निस्कन थाल्नु भएको छ’ कार्कीले भने, ‘फिल्मले माउथ पब्लिसिटी पाएको र सोलो रिलिज भएकाले पनि दोस्रो हप्ता फिल्मको ब्यापार झनै बढ्ने दाबी गर्न सकिएको हो ।’
यतिबेला अष्ट्रेलियामा यो फिल्म हेर्न युवा दर्शकमात्रै होइन, दशैं मनाउन र परिवार भेट्न आउने अभिभावकको संख्या पनि उच्च छ । यो फिल्म यहाँका ८ वटै राज्यका ३० भन्दा बढी हलमा प्रदर्शन भैरहेको छ ।
दीपाश्री निरौला निर्देशित ‘छक्कापञ्जा ५’ आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।