‘एक महिनाभित्र कीर्तिपुरका सडकमा खाल्डाखुल्डी देखिनेछैन’

कीर्तिपुर नगरपालिकाको उपचुनावमा नेकपा एमालेबाट उम्मेदवार बनेका डा. सुरेन्द्र मानन्धर आफूले जित्नेमा ढुक्क छन् । घरदैलो अभियान लगभग सिध्याएका उनी जितेको १५ दिनभित्र परिणाम दिन थाल्ने बताउँछन् ।
भन्छन्, ‘निर्वाचित भएको १५ दिनभित्र कीर्तिपुरका सडकमा रहेका खाल्डाखुल्डी पुर्ने र सफा गर्ने काम सुरु गर्छौं । एक महिनाभित्र कीर्तिपुरका सडकमा खाल्डाखुल्डी देखिने छैन ।’
प्रस्तुत छ, उम्मेद्वार मानन्धरसँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको अन्तर्वार्ता :
घरदैलो अभियान कति भयो ?
लगभग सकियो, ८०/८५ प्रतिशत सकाएँ ।
मतदाताका अपेक्षा के कस्ता रहेछन् ?
स्थानीय जनताले आफूले भोग्दै आएका दैनिक समस्याहरू अवगत गराउनुभएको छ । निर्वाचित भएपछि एक-एक गरी समाधान गर्दै जान सकिन्छ । सम्बोधन गर्न सकिने खालकै समस्याहरू छन् ।
तपाईंले पहिचान गर्नुभएको समस्या चाहिँ के हुन् ?
खानेपानी, सडक, बजार व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकता नै हुन् ।
अहिले देशभर र कीर्तिपुरमा पनि पढेलेखेका युवा रोजगारसँग जोडिन चाहन्छन् र यही नहुँदा राज्यप्रति नै निराशा जस्तो अवस्था देखा परेको छ । यसलाई निकै ठूलो चुनौतीको रूपमा लिएका छौं र समाधान गर्न निर्वाचित भएपछि व्यवस्थित योजना बनाएर अगाडि बढ्नेछौं ।
खानेपानीको समस्या छ भन्नुभयो, स्थानीयको प्रमुख चिन्ताको विषय पनि यही रहेछ । समाधानमा के समस्या छ ?
खानेपानीको नगरपालिकाभित्रै आफ्नै मुहान छ । सिम र दूधपोखरीको मुहान छ । दूधपोखरीभन्दा मुनिको पनि मुहान छ । ती मुहानहरूको सदुपयोग र व्यवस्थापन गर्न सके ३० प्रतिशत क्षमता बढाउन सक्छौं ।
अहिले मेलम्चीको पानी पनि कीर्तिपुरले पाइरहेको छ । स्थानीय स्रोत र त्यसलाई नयाँ ढंगले व्यवस्थापन गर्नसक्दा खानेपानीलाई धेरै सहज बनाउन सक्छौं ।
जनताले समाधान खोजेका छन् । कति समयभित्र परिणाम दिन सक्नुहुन्छ ?
निर्वाचित भएको १५ दिनभित्र कीर्तिपुरका सडकमा रहेका खाल्डाखुल्डी पुर्ने र सफा गर्ने काम सुरु गर्छौं । एक महिनाभित्र कीर्तिपुरका सडकमा खाल्डाखुल्डी देखिने छैन ।
कीर्तिपुरका अस्तव्यस्त सडकलाई व्यवस्थित गर्न र नयाँ सडक बनाउने काममा पनि आवश्यकताको आधारमा अगाडि बढ्नेछौं । यसका लागि कीर्तिपुर सडक बोर्ड बनाउने योजना छ । बोर्डमार्फत् सडकका कामहरू अगाडि बढ्नेछन् ।
गृहिणी महिलालाई तालिम दिने र उनीहरूलाई आर्थिक उत्पादनसँग जोड्न तालिम दिने योजना छ । उनीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा पनि नगरपालिकाले काम गर्नेछ, यसबाट कीर्तिपुरमा साना उद्यमहरू फस्टाउनेछ भने महिला आत्मनिर्भर बन्नेछन् । यसले समाजको दीगो विकासका लागि टेवा पुर्याउँछ ।
कीर्तिपुरमा स्वास्थ्यको समस्या समाधान गर्ने र शैक्षिक गुणस्तर बृद्धि गर्न पनि काम गर्नुपर्नेछ । यी तमाम काम मेयर एक्लैले गर्नसक्दैन । सबै राजनीतिक दल, समाजसेवी, बुद्धिजिवी र नागरिकहरू मिलेर काम गरिनेछ । यो संस्कार विकास गर्नु मेरो प्राथमिकताको विषय हो ।
हरेक विषयका विज्ञहरूलाई नगरपालिकाको काममा सहभागी गराउनेछौं । उनीहरूको परामर्श, सबै राजनीतिक दलका मानिसहरूको सुझाव र सल्लाहमा नगरपालिकालाई सामूहिक रूपमा अगाडि बढाउनेछौं । सामूहिक प्रयासले नै कीर्तिपुरको तमाम समस्या समाधान गर्नेछ ।
युवा तथा महिलालाई रोजगार र उपार्जनसँग जोड्ने कस्ता योजना छन् ?
महिलालाई सीपमूलक तालिम दिने, उत्पादित वस्तुको बजारीकरण नगरपालिकाले नै गरिदिने योजना छ । बेरोजगार युवालाई प्राविधिक तालिम दिएर स्वरोजगार बनाउने काम नगरपालिकाले काम गर्नेछ । संघीय सरकारले प्रावधिक तालिम केन्द्र बनाए जस्तै स्थानीय सरकारको तर्फबाट प्राविधिक शिक्षालय स्थापना गर्नेछौं । शिक्षालयबाट उत्पादन भएका जनशक्ति व्यवस्थापनको जिम्मेवारी पनि स्थानीय सरकारले लिन्छ ।
कीर्तिपुरलाई उद्योगसँग नजोडी हुँदैन । निर्वाचित भएपछि कीर्तिपुरमा औद्योगिक ग्राम निर्माण गरेर उद्योगलाई व्यवस्थित गर्नेछौं ।
युवा लक्षित कार्यक्रम केही छन् ?
अहिलेका युवाको आइटीसँग असाध्यै लगाव छ । उनीहरूलाई आइटीसँग सम्बन्धित तालिम दिएर अर्थसँग जोड्नेबारे सोच्नेछौं ।
कीर्तिपुर भनेको कला, सम्पदा, संस्कृतिको नगर पनि हो । यहाँको संस्कृतिलाई जीवन्त बनाउन युवालाई जोड्ने योजना अगाडि बढाइनेछ । अब युवा हातहरू शिल्पसिद्ध हुनेछन् ।
कीर्तिपुरमा विद्यमान एक खालको अस्तव्यस्ततालाई तोड्न युवा जमातलाई साथमा लिएर अगाडि बढ्ने हो । यसले अर्को पुस्तालाई समेत सकारात्मक उत्प्रेरणा दिन सक्नेछ ।
कीर्तिपुरमा सफाइको पनि कमी छ । कीर्तिपुरको आन्तरिक सुरक्षामा पनि मेहनत गर्नुपर्नेछ । यी तमाम कुराहरूमा ढिलाइ नगरी काम गर्नेछौं ।
रैथाने संस्कृतिप्रति पनि स्थानीयको चिन्ता रहेँछ, उनीहरूले तपाईँसँग कस्ता अपेक्षा गरेका छन् ?
कीर्तिपुर मौलिक कला र संस्कृतिको केन्द्र हो । सांस्कृतिक पर्यटन मार्फत् आर्थिक उपार्जनको संभावना पनि हो । मैले यसलाई राम्ररी पहिचान गरेको छ । यस्तोमा कीर्तिपुरका मानिसलाई अझ बढी सहभागी गराउनुपर्ने छ । सहभागिता स्वयमसेवी बनाउने नभएर आर्थिक उपार्जनसँग जोड्ने हो । अब नगरपालिकाले यो सोच्नेछ ।
कीर्तिपुरमा अन्यत्र जस्तै सहकारीको समस्या रहेछ । स्थानीयले यो विषय पनि उठाएका छन् । कसरी सम्बोधन गर्नुहुन्छ ?
हो, कीर्तिपुरमा पनि सहकारीको समस्या छ । सहकारी संस्थाहरूबाट पीडित भएका मानिसको बाहुुल्यता भएको ठाउँ हो, यो । नगरपालिकाको सहकारी डिभिजन छ । अहिलेकै जसरी सहकारी डिभिजनको काम अगाडि बढाए पीडितका फ्रस्ट्रेसन बाहेक केही हुँदैन ।
हामी निर्वाचित भएपछि नगरपालिकाको सहकारी विभागलाई परिमार्जन गर्छौं । नयाँ ढंगले लान्छौं । कुन सहकारीलाई कारबाहीका निम्ति प्रदेश सरकारलाई सिफारिस गर्नुपर्ने हो, ती सबै कुराहरू हेरेर अगाडि बढ्नेछौं । म मेयरमा निर्वाचित भएको दुई महिनाभित्र यी तमाम कामहरू अगाडि बढाउनेछु ।
शैक्षिक गुणस्तरको पनि कुरा रहेछ, तपाईँको योजना ?
शिक्षासँग सम्बन्धित विषयमा कुरा गर्दा कैयन विषय संघीय सरकार र प्रदेश सरकारसँग जोडिन्छ । कैयन विषय क्षेत्राधिकारसँग पनि जोडिएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने विषय सबै हामी प्रयोग गर्नेछौं र कीर्तिपुरको शिक्षाको गुणस्तर उकास्न काम गर्छौं ।
सार्वजनिक विद्यालयको व्यवस्थापकीय कमजोर जति छन्, त्यो तत्काल सुधारिएन भने झन् समस्या हुन्छ । यतातिर ध्यान दिनेछौं ।
संविधानले कक्षा ८ सम्म मातृ भाषामा शिक्षा दिने, स्थानीय पाठ्यक्रम तयार पारेर अगाडि बढाउन सकिने भनेको छ । यस अनुसार हामी स्थानीय पाठ्यक्रमलाई प्राथमिकतामा राख्नेछौं । रैथाने भाषा, कला र संस्कृतिसँग जोडेर स्थानीय पाठ्यक्रम तयार पार्नेछौं ।
मेयरमा निर्वाचित भएपछि कतिपय विषयमा त संघीय सरकारसँग संघर्ष गर्नुपर्ने देखियो, हैन ?
संघीय सरकारले आफ्नो अधिकार उपयोग गर्न पाउँछ । संविधानले तीन तहको अधिकार सूची बनाएको छ । त्यो सूची अनुसार स्थानीय सरकारले पनि आफ्नो अधिकार क्षेत्र अन्तर्गत काम गर्न पाउनुपर्छ र गर्नुपर्छ ।
म आफैँ कानुनको विद्यार्थी हुँ । यसकारण स्थानीय सरकारले अधिकतम अधिकार प्रयोग गर्नेछ । सँगै, संघीय सरकारलाई कीर्तिपुरसँग समग्र क्षेत्रमा जोड्नुपर्ने छ । यसमा मेरो भूमिका असाध्यै धेरै हुनेछ ।
किनभने राज्यलाई ठूला आन्दोलनहरुमा जे योगदान गर्नुपर्ने हो, त्यो कीर्तिपुरले गरेको छ ।
राजनीतिक परिवर्तन वा अन्य परिवर्तमा जे योगदान गर्नुपर्ने हो, त्यो गरेको छ ।
तीन तहको सरकारलाई बलियो बनाउने भनेको वित्त अधिकार, साधन स्रोत प्रयोगमा बाँडफाँडको विषय होला । जसले आर्थिक अवस्थासँगै अन्य विषय अगाडि बढाउन सकिन्छ । यसमा तपाईको कुरा के हो ?
हो, समस्या यहीँनेर छ । मैले नगरपालिकाको हितका लागि काम गर्दै गर्दा अधिकारका लागि संघीय सरकारसँग पनि छलफल गर्नुपर्छ । छलफल गरेरै स्थानीय सरकारले प्राप्त गर्नुपर्ने अधिकार लिन प्रयास गरिन्छ ।
पहिले संविधानका अन्तर्वस्तुमाथि नै निर्णय गर्ने ठाउँका निम्ति (संविधान सभा सदस्य) चुनाव लड्नुभएको थियो । अहिले स्थानीय सरकारको अधिकारबारे लड्छु भन्नुपर्ने अवस्था छ, यसलाई कसरी लिनुभएको छ ?
जनताले चाहना राखेको विषय र यो प्रश्नमा केही फरक छ । जनताले स्थानीय समस्या समाधानकै विषयमा बढी ध्यान राखेको पाएको छु ।
तर सबै कोणबाट योग्य उम्मेदवार हुनुपर्छ भन्नेमा सबैको साझा मत रहेको छ । बीचको समयमा कीर्तिपुरमा नेतृत्वको ग्याप रह्यो । त्यो ग्यापले प्रशासन पनि अस्तव्यस्त छ । जनप्रतिनिधिहरू जो हुनुहुन्छ उहाँहरूको अन्योलता छ, निराशा छ ।
वडाअध्यक्ष र कार्यपलिका सदस्यहरूले पनि सबल, सक्षम र संयोजनकारी नेतृत्वको अभावले केही गर्न पाइराख्नुभएको छैन । जनताले पनि यही महसुस गरेका छन् । यसआधारमा कानुनको विद्यार्थी, अधिकारको लागि लड्ने, संघीय सरकारसँग योजना र बजेट लिन सक्ने व्यक्तिको खाँचो महसुस गरेका छन् । यसमा म काम गर्न सक्छु ।
जनताको चाहना र विश्वास पनि मप्रति अधिक छ । म विश्वस्त पार्न चाहन्छु-म निर्वाचित हुँदैछु । निर्वाचित भएपछि अन्य जनप्रतिनिधि साथीहरूको क्षमतालाई प्रस्फुटन गर्न मेयरको तर्फबाट ठोस् योजनाहरू ल्याउँछु । जो वडाध्यक्ष साथीहरू हुनुहुन्छ, जो कार्यपलिकाका सदस्य र जनप्रनिधि साथीहरू हुनुहुन्छ, उहाँहरूलाई उत्प्रेरित गर्दै उहाँहरूसँग सरसल्लाह गर्दै, उहाँहरूको परामर्शमा कीर्तिपुर नगरपालिकालाई सबैको नगरपालिका हो भन्ने बनाउँछु ।
अर्कोतर्फ मैले संघको निर्वाचनमा भाग लिएको छैन । संविधान सभाको दोस्रो कार्यकालका लागि भएको चुनावमा भाग लिएको हो । संवधान निर्माण गर्न आवश्यकता महसुस गरेर भाग लिएको हो । त्यो बेलामा सफल हुन सकिएन ।
यहाँनेर प्रष्ट हुनुपर्छ- संविधान निर्माण एउटा काम हो । स्थानीय सरकारको नेतृत्व अर्को कुरा हो । संविधान निर्माण र स्थानीय सरकारको नेतृत्व एउटै व्यक्तिले गर्न सक्दैन वा यसो गर्न हुँदैन वा मिल्दैन भन्ने हुँदैन । यो व्यक्तिको क्षमतामा भर पर्छ ।
म कीर्तिपुरको छोरो हुँ । सानो उमेरदेखि यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक, आर्थिक लगायत हरेक क्षेत्रमा सहभागिता जनाउँदै आएको छु । यो आधारमा मलाई कीर्तिपुरका तमाम जनताले मलाई चिन्नुभएको छ ।
तस्वीरहरुः चन्द्रबहादुर आले/अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।