Main

एमालेले भन्यो : प्रधानमन्त्रीको चीन भ्रमणबारे प्रचण्डको टिप्पणी गैरजिम्मेवार र आधारहीन  

१ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयलाई लिएर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ ।

प्रधानमन्त्री ओलीले आगामी डिसेम्बरमा गर्न लागेको चीन भ्रमणलाई प्रचण्डले चाइना कार्ड खेल्न खोजेको, अपरिपक्वताको उदाहरण भनी गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो ।

दुई दिनअघि भारतीय सञ्चारमाध्यम द हिन्दूलाई दिएको अन्तर्वार्तामा प्रचण्डले ओलीको चीन भ्रमणबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

त्यसको दुई दिनपछि शनिबार एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठले विज्ञप्ति जारी गरी प्रचण्डको भनाइ आधारहीन, गैरजिम्मेवार तथा नेपालको सार्वभौम पहिचान र परराष्ट्र नीति विपरीत भनेका छन् । एमालेले प्रचण्डलाई उक्त भनाइ फिर्ता लिन र माफी माग्न आग्रह गरेको छ ।

प्रचण्डको अभिव्यक्तिले नेपालको भारत र चीनसँग रहँदै आएको सन्तुलित सम्बन्धलाई अवमूल्यन गरेको भन्दै एमालेले यस्तो अभिव्यक्तिले ती देशहरुसँग रहँदै आएको पारस्परिक सम्बन्धलाई खतरामा पार्ने पनि बताएको छ ।

परराष्ट्र नीति राजनीतिक विवादको विषय नभएको भन्दै सचिव महासेठले आफ्नो विज्ञप्तिमा प्रचण्डको अभिव्यक्ति नेपालको अन्तर्राष्ट्रिय छविमै हानी पुर्‍याउने खालको भएको उल्लेख गरेका छन् ।

पढ्नुहोस् एमालेको विज्ञप्ति

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button