कप्तान र प्रशिक्षक दुबैमा प्रधानमन्त्री कप जित्ने पहिलो व्यक्ति बने मञ्जित

२० माघ, काठमाडौं । नेपालका पूर्वक्रिकेट खेलाडी मञ्जित श्रेष्ठ प्रधानमन्त्री कपमा कप्तान र प्रशिक्षक दुवैमा उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन् ।
शनिबार नेपाल पुलिस क्बलले छैटौं संस्करणको प्रधानमन्त्री कपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधि जित्यो । मञ्जित पुलिसका मुख्य प्रशिक्षक थिए । यस संस्करणदेखि मञ्जितले पिएमकपमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
यसअघिका पाँच संस्करण उनले कप्तानको रुपमा खेलेका थिए । मञ्जितको कप्तानीमा पुलिसले २०१९ को प्रधानमन्त्री कप फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो । २०१७ को फाइनल बर्षाको कारण प्रभावित हुँदा आर्मीसँग उपाधि बाँडेको थियो ।
मञ्जितले गतवर्ष नवौं राष्ट्रिय खेलकुदबाट कप्तानी छाड्दै दीपेन्द्रलाई हस्तान्तरण गरेका थिए । मञ्जितले २०६५ देखि २०७९ सम्म पुलिसको कप्तानी गरेका थिए ।
‘पहिला कप्तानको रुपमा उपाधि जिताएको थिएँ । अहिले विभागको रुपमा प्रशिक्षकको जिम्मेवारी दिएको छ । यो जिम्मेवारी सन्तुष्ट भएर भूमिका निर्वाह गरेको छु । प्रथम हुनुभन्दा अझ बढी खुसी १० खेलमा सबैमा जितेकोमा छु । यो कुनै सामान्य कुरा होइन । कप्तान, खेलाडी र प्रशिक्षक सब एक भएर उपाधि जितेका हौं’, मञ्जितले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।