Main

जापानमा सुष्मालाई स्वर्ण, नेपाललाई कूल एघार पदक

१६ वैशाख, काठमाडौं । नेपालकी सुष्मा श्रेष्ठले आइतबार २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण पदक जितेकी छन् ।

जापानको ओसाका शहरमा रहेको साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, ६ रजत र ४ कांस्यसहित कूल ११ पदक हासिल गर्‍यो ।

नेपाललाई एक मात्र स्वर्ण पदक दिलाउने सुष्मा ६२ केजी मुनि तौल समूहमा च्याम्पियन बनेकी हुन् । उनले फाइलमा जापानकी उमेकावा आयुमीलाई १२–९, ३–० ले हराइन् ।

साग स्वर्णधारी वीरबहादुर महरा भने जापानकी खेलाडीसँग हारेर रजत पदकमा चित्त बुझाउन बाध्य भए । ७४ केजी मुनि तौल समूहमा महराले जापानका कुरोडा कोहेलाई हराएर फाइनलमा स्थान बनाएका थिए । तर महरा उपाधि भिडन्तमा जापानकै ताकाटो काटोसँग ८–१७, ५–४ स्तब्ध भए ।

यसैगरी श्रीकृष्ण खड्का, निरज देउवा, शानी राना मगर, राहुल कुमाल र रौनक गिरीले पनि रजत पदक जितेका छन् । ८७ केजी मुनि श्रीकृष्ण फिलिपिन्सका जुलियस फ्रान्क तानो, ८७ केजी माथि निरज जापानका मिनागावा तोरु र राहुल कुमाल जापानका साइतो सोसँग फाइनलमा पराजित भए ।

महिला ७३ केजी मुनि शानी जापानकै उमेकावा आयोमीसँग हारेर स्वर्ण पदकबाट वञ्चित भइन् । क्याडेट पुरुष पुम्सेमा जापानका खेलाडीसँग हारेर रौनक दोस्रो भए । यसैगरी ६८ केजी धनबहादुर तामाङ र राजन भण्डारीले कांस्य पदक जितेका छन् ।

नेपाल टिमका पुरुष प्रशिक्षक भजिन्द्र बहादुर क्षेत्रीले यस प्रतियोगितामा नेपालले यो भन्दा बढी स्वर्ण पदकको अपेक्षा गरेको भएपनि समग्रमा खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । ‘धेरैजसो फाइनल जापानका खेलाडीसँग परेकोले पनि नेपाललाई घाटा भयो । जापानी खेलाडीहरुलाई घरेलु कोर्ट र समर्थकको फाइदा पनि भए जस्तो लाग्छ ।’

यसैगरी नेपाल महिला टिमकी प्रशिक्षक विद्या राईले सुष्माबाट स्वर्ण पदक प्राप्त भएकोमा खुशी व्यक्त गर्दै उनले टेक्निकल खेल खेलेर जापानी खेलाडीलाई हराएकोमा आफू अझ बढी खुशी भएको प्रतिक्रिया दिइन् ।

जापान वाटाको आयोजना तथा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोगमा आयोजित दुई दिने प्रतियोगितामा २४ देशको सहभागिता रहेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button