डेढ वर्षदेखि किसानले पाएनन् पशु चौपायाको क्षतिपूर्ति, निर्देशनालयमै अड्कियो बजेट
५ मंसिर, गोरखा । वन निर्देशनालय पोखराले रकम निकासी नगर्दा डेढ वर्षदेखि किसानहरू समस्यामा परेका छन् । घरपालुवा पशुचौपायामा पुगेको क्षतिबापत पाउनुपर्ने रकम पछिल्लो डेढ बर्षदेखि पाउन किसानले पाउन सकेका छैनन् ।
राहत रकम वितरणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट एक करोड र प्रदेशबाट ७८ लाख रकम विनियोजन भइसकेको वन तथा वातावरण मन्त्रालय पोखराका सूचना अधिकारी राजेश पौडेलले बताए।
उनका अनुसार सो रकमको अख्तियारी वन निर्देशनालयमा समेत गइसकेको छ । ‘साउन १ गते नै निर्देशनालयमा रकम गइसकेको छ,’ उनले भने, ‘रकम वितरण हुनुपर्ने हो ।’तर निर्देशनालयले हालसम्म रकम वितरण गरेको छैन ।
गत वर्षबाटै रकम नआएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । ‘यसअघि राहत रकम बाँड्ने जिम्मा राष्ट्रिय निकुञ्जलाई थियो,’ कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले भने, ‘गत वर्षबाट हाम्रो कार्यालयलाई जिम्मेवारी दिएको हो ।’ वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका-२०८० ले अधिकार प्रत्यायोजन गरेपनि राहत रकम वितरण हुन नसकेको उनले जानकारी दिए ।
उनका अनुसार राहत रकम माग गर्दै गत आवमा दुई सय तीन जना किसानको निवेदन परेको छ । ‘उनीहरूको कुल २ सय ७६ वटा पशुचौपायामा वन्यजन्तुले क्षति पुर्याएको रहेछ, सो वापत उनीहरूले २६ लाख तीन हजार राहत रकम पाउनुपर्ने छ,’ उनले भने ।
उनका अनुसार राहत रकम माग गर्दै चालु आवमा पनि २५ वटा निवेदन परिसकेको छ । किसानले तीन लाख दश हजार क्षतिपूर्ति रकम माग गरेका छन् । यो तथ्याङ्क अनुसार पीडित किसानले हालसम्म करिब ३० लाख क्षतिपूर्ति रकम पाउनुपर्ने भइसक्यो । निवेदन थपिने क्रम जारी छ । तर रकम वितरण भएको छैन ।
जिल्लामा अधिकांश चितुवाको आक्रमणबाट पुशचौपायामा क्षति पुग्ने गरेको छ । निर्देशिका अनुसार वन्यजन्तुको आक्रमणबाट भैँसी, राँगो वा गोरू, उन्नत जातको गाई, घरपालुवा चौरी, घोडा, खच्चड मरेमा मूल्यांकनको आधारमा प्रति पशु ६० हजार रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था छ ।
अन्य पशुको हकमा बढीमा १० हजारसम्म राहत पाउने व्यवस्था छ । माछा वा कुखुराको हकमा मूल्यांकनको आधारमा वर्षको एक पटक बढीमा १० हजार पाउने व्यवस्था रहेको बताइएको छ । तर लामो समयदेखि राहत रकम नपाउँदा किसानहरू मर्कामा परेका छन् ।
यता, वन निर्देशनालय पोखराका प्रमुख इन्द्रप्रसाद अधिकारीले कार्यविधिमा केही समस्या भएकाले ढिलाइ भएको बताए । ‘रकम आइसकेको छ, तर कार्यविधिमा केही समस्या थियो,’ उनले भने, ‘एक चरणमा मन्त्रालयसँग छलफल भएर मन्त्रालयबाट चिठी समेत आइसकेको छ, अब वितरण हुन्छ ।’
राहत रकम वितरणको प्रक्रिया सुरु भइसकेको भन्दै अव केही दिनमै रकम निकासा हुने उनले जानकारी गराए । ‘नयाँ डाइरेक्टर भोलि आउनुहुन्छ, उहाँ आएपछि एक चरणको बैठक बसेर रकम वितरण प्रक्रिया अघि बढाउँछौ,’ अधिकारीले भने।
– यस समाचारको श्रोत : Online Khabar हो ।