Main

निर्वाचन भएको २ वर्षपछि व्यास नगरपालिकामा पुनःमतगणना गर्न आदेश

१ जेठ, पोखरा । निर्वाचन सकिएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकामा पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि स्वतन्त्र सांसद दीपकराज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा मंगलबार आदेश आएको हो ।

नेकपा एमालेको समर्थनमा कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए । निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्धा हालेका थिए ।

अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

वडा न १ देखि ८ सम्म जितेको परिमाणमा सुनाइएको र वडा न ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको उनको आरोप थियो ।

एमालेको सहयोगमा नगरको मेयरको उम्मेदवार बनेका जोशी कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका हुन् ।

कांग्रेससँग असन्तुष्ट बनेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो राजनीतिक विरासत फर्काउन एमालेलाई साथमा लिएर छोरा दीपकलाई मेयरको उम्मेदवार बनाएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button