Main

बालिका बलात्कारको आरोप लागेका इन्स्पेक्टर शिवाकोटी कसरी छुटे धरौटीमा ?

२८ भदौ, काठमाडौं । बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटी बिहीबार धरौटीमा रिहा भए ।

पक्राउ परेको तीन महिनापछि शिवाकोटी उच्च अदालत पाटनको आदेशपछि ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । २३ जेठमा पक्राउ परेका शिवाकोटीलाई यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १९ असारमा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

त्यसपछि पुर्पक्षमा थुनामा रहेका इन्स्पेक्टर शिवाकोटी जिल्लाको आदेशविरुद्ध उच्चमा पुनरावेदनका लागि पुगेका थिए । उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले इन्स्पेक्टर शिवाकोटीलाई ३ लाख धरौटीमा छाड्न आदेश दियो । धरौटी बुझाएर उनी रिहा भए ।

जिल्ला आदेश बदर गर्दै धरौटीमा छाड्नका लागि उच्चले विभिन्न आधारहरु टेकेको छ । जसमा आरोपित पक्ष इन्स्पेक्टर सुवेदीले आफूमाथि लागेको आरोपमा अस्वीकार गरेको, बालिकाको जन्म मिति समेत फरक फरक रहेकोलाई एउटा आधारको रुपमा लिएको छ ।

पीडित भनिएकी बालिकाको स्वास्थ्य परीक्षण गर्दा समेत बलात्कार स्पष्ट रुपले स्थापित हुन नसकेको उच्चको आदेशमा उल्लेख गरिएको छ ।

इन्स्पेक्टर शिवाकोटीलाई धरौटीमा छाड्नका लागि अदालतले उनीहरुको बाबुआमाको उपस्थित नुहुनुलाई पनि आधार मानेको छ । ‘बालिका कानून बमोजिम आफ्नो जैविक बाबुआमा र अभिभावकको उपस्थितिमा नभई संस्थाको संरक्षणमा रही निजले भनेको भनि संस्थाको तर्फबाट दिएको जाहेरी अन्य वस्तुनिष्ठ प्रमाणबाट यकि पुष्टि हुन बाँकी नै रहेको अवस्थामा प्रतिवादीलाई शंकायुक्त अवस्थामै मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने तँहा अदालतबाट भएको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ’ उच्चको आदेशमा उल्लेख गरिएको छ ।

जाहेरीमा पीडित बालिकाले ३ वर्षदेखि आफूमाथि बलात्कार भएको दाबी गरिएको थियो । १० जेठ २०८१ देखि १४ गतेसम्म बालिकाकी आमा बालिकासँगै प्रतिवादी शिवाकोटीको घरमा बसेको पनि पाइएको छ । त्यति बेला बालिकाले आफूमाथि बलात्कार भएको भनेर समेत नबताएको भन्दै पीडित बालिकाकी आमाले बयान दिएकी थिइन् । यसलाई पनि अदालतले एउटा आधारको रुपमा लिएको देखिन्छ ।

शिवाकोटीमाथि आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो । बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेको थियो ।

महानगरको सामाजिक विकास विभाग अन्तर्गत नाताभन्दा बाहेकका व्यक्तिसँग बसेका बालबालिकाको तथ्यांक संकलन गर्ने क्रममा ती बालिकालाई इन्स्पेक्टर शिवाकोटीको घरमा घरेलु श्रमिकको रुपमा राखेको खुलेको थियो ।

ती बालिका विगत ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् । उनले घरायसी काममा सहयोग गर्दै कक्षा ८ मा पढ्दै आएकी थिइन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button