भूकम्प पीडितको अस्थायी टहरामा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

३ भदौ, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र उनीहरुका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता दिनेश तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार अस्थायी टहरोमा पहिरो खसेको जानकारी प्रहरीले आज बिहान ७ः५० बजे पाएको थियो । त्यसपछि इन्सपेक्टर माधव प्रसाद चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको थियो । प्रहरी टोली बिहान नौ बजे घटनास्थल पुगेर शव बाहिर निकालेको थियो ।
नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार उनीहरु भूकम्प पीडित हुन् । स्थायी आवास नबनेकाले उनीहरु अस्थायी टहरोमा बस्दै आएका थिए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिक पर्दछ ।
बझाङमा पनि पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । राति आएको पहिरोमा परेर बुंगल नगरपालिका-१० को टुमेडाका एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।
पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले जानकारी दिएका छन् । उनकाअनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।