Main

मेखराज तामाङ बने एसपीए स्टार्टअप फन्डको विजेता, १० लाख पाउने

काठमाडौं । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालन गरेको स्टार्टअप फन्डको पहिलो विजेता मेखराज तामाङ बनेका छन् ।

सोमबार भएको ग्र्यान्ड फिनालेमा एसपीए कलेजमा बीबीए तेस्रो वर्षमा अध्ययनरत तामाङको एकता भैंसी फार्म स्टार्टअप आइडिया छनोटमा परेको हो ।

तामाङको स्टार्टअप आइडिया उत्कृष्ट १ मा छनोट भएसँगै उनलाई कलेजले १० लाख रुपैयाँ प्रदान गर्ने भएको हो ।

रोशन सिंह (धनगढी गट फार्मिङ) दोस्रो, यशोदा जोशी (इमेज फुटवयर) तेस्रो, आयुस्मा जोशी (फारवइस्ट डेकुरेसन हब) चौथो र रमेश राना (प्रिन्स पोल्ट्री र्फाम) को स्टार्टअप आइडियाले पाँचौँ स्थान हासिल गरेको थियो ।

१७ साउन २०८० मा एसपीए कलेजले ‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा गरेसँगै २५ भदौ २०८० सम्म विद्यार्थीहरूलाई आफ्नो आइडिया सहितको प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

विद्यार्थीहरूले पेस गरेका प्रस्तावमध्येबाट उत्कृष्ट ५ ओटा आइडिया छनोट गरी कलेजको पेजमा आइडिया सार्वजनिक गरी त्यसबाट सर्वसाधारणको प्रतिक्रिया लिइएको थियो ।

उक्त कार्यक्रमको प्यानल अफ जजमा आइएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकी, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय रहेका थिए ।

फाइनल राउन्डमा उनीहरूले आफ्नो आइडिया प्रस्तुत गरेसँगै अनलाइन भोटिङ, आइडिया प्रस्तुत गर्ने शैली, आत्मविश्वास, बजारले स्वीकार गर्ने योग्य सम्भाव्यता र जजहरूको दिएको नम्बरको आधारमा नवीन सोच, योजना, विचार लाई उत्कृष्ट स्टार्टअप आइडिया घोषणा गरिएको कोषका संयोजक मनोज भट्टले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button