राष्ट्रिय हक्कीको सेमिफाइनल समीकरण पूरा

११ असार, काठमाडौं । पोखरामा जारी पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगतामा मंगलबार सेमिफाइनल समीकरण पूरा भएको छ ।
समूह ‘ए’ बाट नेपाल आर्मी समूह विजेता र कर्णाली प्रदेश समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
यस्तै समूह ‘बी’ बाट नेपाल पुलिस विजेता र गण्डकी प्रदेश उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरे ।
सेमिफाइनलमा आर्मीले घरेलु टोली गण्डकीसँग र पुलिस कर्णाली प्रदेशसँग खेल्नेछ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा मंगलबार लिग चरणका ६ खेल सम्पन्न भएका छन् । जसमा आर्मीले मधेश प्रदेशलाई ६–० गोलले पराजित गर्यो ।
यस्तै दोहोरो जित हात पारेको पुलिस कोशी प्रदेशलाई ४–१ तथा लुम्बिनी प्रदेशलाई ८–१ गोलले हरायो ।
नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगितामा कर्णालीले पनि मंगलबार दोहोरो जित निकाल्यो । कर्णालीले बागमती प्रदेशलाई २–० ले र मधेशलाई पनि २–० कै नतिजामा हरायो ।
घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशलाई १०–० को पराकिलो अन्तरले पराजित गर्यो ।
प्रतियोगिताको अन्तिम दिन बुधबार सेमिफाइनल र फाइनल हुने आयोजक नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।
प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।