Main

ललितपुर मेयर्स च्याम्पियनसिपमा सुदूरपश्चिमको दोस्रो जित

३१ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२४ मा सोमबार कोशी प्रदेशलाई १९ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । कोशी लगातार दोस्रो खेलमा पराजित भएको छ ।

११३ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ७ विकेट गुमाउँदै ९३ रन बनायो । काजोल श्रेष्ठले ४० बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाइन् ।

अप्सरी बेगमले ३४ बलमा ३ चौकासहित २३, सबनम राई ८, टीका साह २, सानु राजवंशी ७ र प्रिंका मगर ८ रनमा आउट भइन् । सुदूपश्चिमकी ऋतु कनौडिया, लक्ष्मी साउद, जानाकी थापा र बिन्दु रावलले १–१ विकेट लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो ।

सम्झना खड्काले ५१ बलमा ४ चौकासहित सर्वाधिक ५४ रन बनाइन् । ऋतु कनौडियाले ३५ बलमा १ चौकासहित २३, बिन्दु रावल १४, कविता जोशी ५ र रुवि पोदार २ रनमा आउट भइन् । कोशीकी सबनम राई, हिरन्मई रोय र संगिता राईले २–२ विकेट लिइन् ।

सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर ११ लाई १६ रनले हराएको थियो । उता कोशी पहिलो खेलमा एपीएफसँग २४ रनले पराजित भएको थियो ।

समान ४ अंक भए पनि नेट रन रेटको कारण एपीएफ शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा छ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

पाँच टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा भइरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button