‘लाज शरणम्’को लागि ज्यान बनाउँदै बले, केही समय सिरियल र म्युजिक भिडियो नगर्ने

काठमाडौं । सागर लम्साल ‘बले’ केही महिनादेखि सामाजिक सञ्जाल, म्युजिक भिडियो र टिभी सिरियलबाट गुमनाम जस्तै छन् । निकटलाई बाहेक उनी के गर्दैछन् भन्ने अत्तोपत्तो छैन ।
उनी यतिबेला ‘सक्किगो नि’ सिरियलको टिमले बनाउन लागेको पहिलो कथानक फिल्म ‘लाज शरणम्’को गृहकार्यमा व्यस्त छन् । वैशाख अन्त्यदेखि छायांकन सुरु हुने यो फिल्मको शीर्षमध्येको भूमिकामा बले पनि छन् र यसका लागि उनी ज्यान बनाउँदैछन् ।
फिल्मको छायांकन नसकिएसम्म म्युजिक भिडियो र सिरियल नखेल्ने उनको योजना छ । जसअनुसार उनी यतिबेला घरमै जिम ट्रेनर राखेर ज्यान बनाउन कसरत गरिरहेका छन् । ‘कम्तीमा चार महिना बाहिर आउँदिन, बुढानीलकण्ठस्थित घरमै जिम ट्रेनर राखेर ज्यान बनाउँदैछु,’ उनले भने, ‘चकलेटी टाइपको बडी बनाउँछु ।’
आम्स र पेट हल्का देखिने, अन्यत्रको कटिङ निकाल्ने गरी ज्यान बनाउने उनको तयारी छ । ‘अहिले अरु काम छाडेर ज्यान बनाउने र खाने मात्र काम भएको छ,’ उनले भने । डेढ महिनामा खोजेजस्तो शरीर बन्ने उनी बताउँछन् । स्रोतका अनुसार फिल्ममा बलेको शीर्ष भूमिका छ ।
‘जिग्री ब्रो’ले निर्देशन गर्ने चर्चा
डोल्पामा लोकेसन हन्टिङ गर्दै जिग्री ब्रो, छायांकार सुदीप बराल र लेखक याम क्षेत्री
औपचारिक घोषणा त भएको छैन तर फिल्मलाई ‘जिग्री ब्रो’को रुपमा चर्चित कुमार कट्टेलले निर्देशन गर्ने जनाइएको छ । कट्टेल र छायांकार सुदीप बरालसहितको टोली डोल्पा, जाजरकोट र कालीकोट क्षेत्रको लोकेसन रेकी गरेर काठमाडौं फर्किएको छ ।
फिल्ममा कर्णाली सेरोफेरोको कथा हुने र हिरो हिरोइनभन्दा पनि मुख्य क्यारेक्टर खोजिएको जनाइएको छ ।
जेपीटी क्रिएसनले निर्देशन गर्ने यो फिल्ममा अहिलेसम्म सिरियलका मुख्य कलाकारबाहेक अरु कलाकार अनुबन्धित भइसकेका छैनन् । अहिले केही कलाकारसँग यसबारे छलफल चलिरहेको स्रोतले बतायो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।