साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै भुटान सेमिफाइनल नजिक
५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’को खेलमा भुटानले श्रीलंकालाई ४-१ ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा भुटानका लागि देकी लाजोमले दुई तथा दोर्जी एडेन र नामग्याल देमाले एक-एक गोल गरिन् ।
श्रीलंकाका लागि कप्तान थुशानी मधुशिकाले एक गोल फर्काइन् । पहिलो जितपछि भुटानले दुई खेलबाट ४ अंक जोडेको छ । भुटानले पहिलो खेलमा घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।
श्रीलंकाको भने यो पहिलो हार हो र समान खेलबाट उसको ३ अंक छ । आजै समूह बी मा रहेका नेपाल र माल्दिभ्सको खेल हुनेछ ।
भुटानले देकी लाजोमले खेलको आठौं मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् । देकीले नामगेल देमाले राइट साइडबाट दिएको कट्ब्याकमा वान टचमा गोल गरिन् । तर, भुटानको यो अग्रता धेरै समय टिकेन । १५ मिनेटपछि श्रीलंकाले बराबरी गोल फर्कायो ।
२३औं मिनेटमा श्रीलंकाकी कप्तान थुशानी मधुसीकाले बराबरी गोल फर्काइन् । पिएम परेराको क्रसलाई भुटानी डिफेण्डर देकी याङ्दोमले क्लियर गर्न नसक्दा कप्तान थुशानीले गोल गरिन् ।
खेलको ३२औं मिनेटमा दोर्जी एडेनले गोल गर्दै भुटानलाई २-१ को अग्रता दिलाइन् । नाङ्गेल देमाको फ्रिकिक क्रस श्रीलंकाली डिफेण्डरले क्लियर गर्न नसक्दा दोर्जीले गोल गरेकी हुन् ।
दोस्रो हाफमा पनि भुटानले दुई गोल गर्यो । ७६ औं मिनेटमा देकी लाजोमले व्यक्तिगत दोस्रो गोल गरेपछि भुटानले ३-१ को अग्रता बनायो । त्यसको तीन मिनेटपछि नै नामग्याल देमाले गोल गर्दै भुटानको अग्रता फराकिलो पारिन् ।
भुटानले समूहको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्नेछ भने श्रीलंकाले घरेलु टोली नेपालको सामना गर्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।