क्याम्पस प्रमुखको राजीनामा माग्दै अस्कलमा ताला

२७ वैशाख, काठमाडौं । अस्कल क्याम्पस प्रमुखको राजीनामा माग गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमीले ताला लगाएको छ ।
यसअघि अनेरास्ववियुले चैत २५ देखि १५ वैशाखसम्म क्याम्पस प्रमुखको राजीनामा माग गर्दै ताला लगाएको थियो ।
संगठनले राजीनामाको माग गरेपछि केही दिनलाई निमित्त क्याम्पस प्रमुखको रूपमा सहायक क्याम्पस प्रमुख होम बानियाँलाई तोकेर ताला खोलिएको थियो ।
अघिल्लो पटक तालाबन्दी गर्दा अनेरास्ववियुमाथि प्रश्न उठेपछि २५ वैशाखदेखि मदन भण्डारी स्पोर्टस् एकेडेमीका नाममा ताला लगाइएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीका प्रकाश बयकले क्याम्पस प्रमुखले आर्थिक अनियमितता गरेको, गुण्डा प्रयोग गर्दै होस्टेलको झ्याल फुटाएको, विद्यार्थीमाथि झूटो मुद्दा लगाएको लगायत कारणले ताला लगाउन बाध्य भएको बताएका छन् ।
नेविसंघ क्याम्पस एकाइ अध्यक्ष प्रकाश अर्यालले भागबन्डामा क्याम्पस प्रमुख नियुक्ति हुने प्रवृत्तिले समस्या ल्याएको बताए । उनले भने, ‘धेरै वर्षदेखि माओवादीको क्याम्पस प्रमुख नियुक्त हुँदै आएको छ । यतिबेला अखिलले माओवादीको क्याम्पस प्रमुख नचाहेको हो अरू केही होइन ।’
सहायक क्याम्पस प्रमुख गोपाल न्यौपाने विद्यार्थीहरूले आरोप लगाएजस्तो अनियमितता नभएको बताउँछन् । उनले भने, ‘केही कमजोरी होलान्, तर विद्यार्थीको आरोपमा अन्य कुनै सत्यता छैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।